UNIFIL Mission, Lebanon को औपचारिक भ्रमण सम्पन्न गरी मिति २०७९ असार ०८ गतेबाट United Nations Disengagement Observer Force (UNDOF) Mission, Syria को औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले आज मिति २०७९ असार ०९ (तद्अनुसार 23 June, 2022) गते UNDOF Mission अन्तर्गतका सुरक्षा पोष्टहरुको भ्रमण गर्नु भएको छ ।
भ्रमणको क्रममा, उक्त भ्रमण टोलीले माउण्ट हर्मन कम्प्लेक्सस्थित श्री फोर्स हे.क्वा. ईन्फेन्ट्री सपोर्ट युनिट (शा.से.) दशौं डफ्फाको भ्रमण गर्नु भई उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षहरुका बारेमा समेत जानकारी लिनु भएको थियो । सोही अवसरमा प्रधान सेनापति महारथी शर्माले उक्त शा.से. युनिटमा उल्लेखनीय कार्य गर्ने नेपाली शान्ति सैनिकहरु (४ जना) लाई "प्रधान सेनापति प्रशंसा निशान" प्रदान गर्नु भएको थियो ।
सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले फोर्स हे.क्वा. ईन्फेन्ट्री सपोर्ट युनिटका सकलदर्जालाई सम्बोधन गर्नु हुँदै, भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानको रुपमा रहेको माउण्ट हर्मन ईलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ आफ्नो योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्र संघको विश्वसनियता बढाएकोमा धन्यवाद दिनु भएको थियो ।
साथै, माउण्ट हर्मन कम्प्लेक्सको निरीक्षण भ्रमण पश्चात वहाँहरुले Damascus मा Senior Syrian Arab Delegation (SSAD) का सैनिक अधिकृत तथा परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेटघाट गरी Old Damascus Castle को अवलोकन गर्ने योजना रहेको व्यहोरा समेत जानकारी गराईन्छ ।