सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यमले तथ्यपरकता, सन्तुलन, शुद्धता र पेशागत उत्तरदायित्वलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित ‘अदालत र सञ्चारकर्मीबीच अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानन्यायाधीश शर्माले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभुत विशेषता भएको उल्लेख गर्दै नागरिकको सुसूचित हुने अधिकार स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यममार्फत मात्र प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने बताउनुभयो ।
उहाँले अदालतका फैसला, आदेश, न्यायिक प्रक्रिया तथा कानूनसम्बन्धी विषयलाई यथार्थ र सन्तुलित रूपमा जनसमक्ष प्रश्तुत गर्न सके न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ हुने विश्वास व्यक्त पनि व्यक्तख गर्नुभयो । उहाँले अदालत र सञ्चार क्षेत्र दुवैले सार्वजनिक हितको सेवा गर्ने संस्थागत भूमिका निर्वाह गर्ने उल्लेख गर्दै कार्यक्षेत्र फरक भएपनि कानुनको शासन, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्यहरूको प्रवद्र्धनमा साझा उद्देश्य रहेको बताउनुभयो ।
एकअर्काको संवैधानिक भूमिका, स्वतन्त्रता र मर्यादाको सम्मान गर्दै पारस्परिक समझदारी र सहकार्यको वातावरण निर्माण गर्न आवश्यक उहाँको भनाइ छ । उहाँले डिजिटल युगमा सूचना प्रवाहको गति तिब्र बनेसँगै अपुष्ट, अपूर्ण वा भ्रामक सूचनाको जोखिम पनि बढेको भन्दैे न्यायिक विषय संवेदनशील र कानुनी रूपमा जटिल हुने भएकाले यस्ता विषयमा समाचार सम्प्रेषण गर्दा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक पर्ने समेत बताउनु भयो ।