द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न UN Mission हरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ आज मिति २०७९ असार ०४ गते नेपाल सरकारका रक्षा सचिव सहित ७ (सात) सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा लेवनानतर्फ प्रस्थान गर्नु भएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले बिदाई गर्नु भएको थियो ।
प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले मिति २०७९ असार ०४ गते (तदअनुसार 18th June 2022) देखि मिति २०७९ असार १० गते (तदअनुसार 24th June 2022) सम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ Lebanon स्थित UNIFIL Mission र तत्पश्चात Syria स्थित UNDOF Mission को निरीक्षण भ्रमण गर्नु भई उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनु हुनेछ ।
भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरिया, UNIFIL Mission र UNDOF Mission का उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ । वहाँलाई आज लेवनानमा Honorary Consul General of Nepal तथा लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्नु हुनेछ । तत्पश्चात, लेवनानी सेनाको एक टुकडीद्वारा वहाँको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।
लेवनान प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई मिति २०७९ असार ०३ गते जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
साथै, उक्त निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा मिति २०७९ असार १३ गते (तदअनुसार 27th June 2022) देखि मिति २०७९ असार १७ गते (तदअनुसार 1st July 2022) सम्म ५ (पाँच) सदस्यीय भ्रमणदलका साथ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्नु हुने कार्यक्रम समेत रहेको छ ।
प्रधान सेनापति महारथी शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदल मिति २०७९ असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।