लामो समय पछि आज शेयर बजारमा झिनो सुधार देखिएको छ । फागुन ११ गतेदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से आज १.५४ अंकले उकालो लागेको हो । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २३० कम्पनीका ५३ लाख १५ हजार २ सय ९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजारमा झिनो सुधार देखिएको दिन आज बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः ५.३६, १४.१८, ९.८८, ८७.६३, र ३५.५ अंकले बढे भने बाँकी समूह राताम्मे भए । आज सबैभन्दा बढी जीवन बीमा समूह १५४.८४ अंकले घटेको हो ।

बजार सम्हालिएको दिन आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ५.८९ प्रतिशतले बढ्यो भने पाँचथर पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.९० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । शिवम्को २७ करोड ६९ लाख ३२ हजार ८ सय ६३.५० रुपियाँ बराबरको करोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ३.६६ अंकले घट्दा २ अर्ब ४९ करोड ३२ लाख ४१ ह्जार २ सय ७३ रुपियाँ बराबरको कारोबार भएको थियो ।
गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो ।