सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेपछि आकांक्षीहरूको दौडधुप जारी छ । तर, एआईजीमा क–कसले बाजी मार्छन् भन्ने टुंगो लागिसकेको छैन ।
सरकारले स्थानीय तह निर्वाचन आचारसंहित लागु हुनुअघि नै एआईजीहरूको टुंगो लगाउने तयारी गरेको छ । प्रहरीमा एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् ।
हाल नेपाल प्रहरीमा जनपदतर्फ २० डीआईजी छन् । २० मध्ये १३ जना हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची छन् भने अरू सात आईजीपी क्षेत्रीकै वैकल्पिक हुन् । अहिलेको अवस्थामा २० जना नै एआईजीका दाबेदार हुन् ।
आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् ।
त्यसबाहेक आईजीकै ब्याची डीआईजी वसन्त पन्त, ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपीका सबै ब्याचीले वैशाख १९ मै अवकाश पाउनेछन् ।
हाल कायम रहेका पाँच एआईजीमध्ये विश्वराज पोखरेल र सहकुल थापा आईजीपी क्षेत्रीका वैकल्पिक हुन् । उनीहरू र उनीहरूकै ब्याचबाट थपिएका एआईजीमध्येबाट एकजना आईजीपी हुने सम्भावना रहन्छ । तर, एआईजीको संख्या थपिएकाले अहिले नै आईजीपी को बन्छ भन्ने टुंगो छैन ।
नयाँ थपिएको दरबन्दीमा आईजीपीकै ब्याची एआईजी बने थापा वा पोखरेलमध्ये एकजना भावी आईजीपी बन्ने निश्चित हुनेछ । तर, थापा, पोखरेलकै ब्याची एआईजी बढुवामा परे आईजीपीको खेल रोचक हुन सक्ने सम्भावना छ ।
सरकारले एआईजीमध्ये आफूअनुकूललाई आईजीपी बनाउन सक्छ । तर, पोखरेल र थापा सिनयर एआईजी भएको अवस्थाले नयाँ एआईजीलाई संगठनको जिम्मेवारी दिन त्यति सहज नहुने गृहकै अधिकारीहरु बताउँछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनकै पार्टीका नेता बालकृष्ण खाँण गृहमन्त्री भएकाले उनीहरूले चाहेको एआईजीले प्रहरी नेतृत्व हत्याउन सक्ने सम्भावना बढी छ ।
हाल एआईजीको दौडमा वसन्त पन्त, ईश्वरबाबु कार्की, उमेश रन्जितकार, प्रकाशजंग कार्की, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी, गणेश ऐर, दिवेश लोहनीलगायत छन् ।
एआईजी बन्ने चर्चामा धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्कीको नाम अगाडि छ । एआईजी कसलाई बनाउने भन्नेमा सहमति नजुटेकाले बढुवा प्रक्रिया अगाडि बढ्न नसकेको बताइन्छ ।