महिला समूहको किस्ता तिरेर आउँछु भनेर सन्तोषी श्रेष्ठ जोरपाटीस्थित माइतीबाट सोमबार बिहान सबेरै हिँडेकी थिइन् । तर साँझ अबेरसम्म फर्किनन् । उनको मोबाइल पनि अफ थियो ।
छोरी सन्तोषीसँग दिनभर सम्पर्क नभएपछि आमा दिलमायाले ज्वाइँ सन्तोषका भाइ तेजबहादुर सापकोटालाई फोन गरिन् । उनी गौशालामा रहेको फर्निचर कारखानामा काम गर्न गएका थिए ।
दिलमायाको फोनपछि तेजबहादुर तत्कालै घर आए । बल्खुको सुकुम्बासी बस्तीस्थित छाप्रोमा पुगेर हेरे । दाइ बाहिरै भेटिए तर भाउजूलाई देखेनन् । घरभित्र खोज्नथाले । ओछ्यान छरपस्ट थियो । तन्ना र सिरकमा रगत लतपतिएको देखे ।
भाउजू खोज्दै बाहिर–भित्र गर्दैगर्दा बाहिर ढोकाको छेवैमा एउटा बोरा थियो, त्यहाँ हेरे । बोरा हल्लाए, त्यहाँ भाउजूको खुट्टा देखियो । त्यसपछि उनले छिमेकीलाई खबर गरे ।
छिमेकीले बल्खु बिटमा प्रहरीलाई फोन गरिदिए । प्रहरी घटनास्थलमा पुग्दा सोमबार साँझ परिसकेको थियो । भाइ आएको थाहा पाउनासाथ सन्तोष भने फरार भएछन् ।
प्रहरीले जोरपाटीस्थित माइतीलाई खबर गरिदियो । सबैले सन्तोषीको हत्या उनका श्रीमान सन्तोष सापकोटाले नै गरेको आशंका गरे। प्रहरीले सन्तोषलाई खोज्न थाल्यो । त्यो दिनदेखि बेपत्ता उनी मंगलबार साँझ बल्खुको फलफूलबजार नजिकै उनी फेला परे ।
मंगलबार श्रीमती हत्याको अभियोगमा काठमाडौं प्रहरी परिसरले उनलाई सार्वजनिक गर्यो। त्यससँगै हत्याका केही रहस्य खुलेका छन् ।
सन्तोषले ढाँटेर गरेका थिए विवाह
उनीहरुले प्रेम विवाह भएको १४ वर्ष भइसकेको छ । विवाह गर्नु पहिलेसम्म सन्तोषले बल्खुमा घर छ, फर्निचर कारखाना पनि छ भनेका थिए । तर उनले विवाह गरेपछि सुकुम्बासीको छाप्रोमा भित्र्याए ।
अन्तर्जातीय प्रेम विवाह गरेकी सन्तोषीले माइतीमा यस्तो दयनीय अवस्था सुनाइनन् । दुःख लुकाएरै बसिरहेकी थिइन् ।
सन्तोषका बुबा र भाइ फर्निचरको काम गर्छन् । सन्तोष राम्रो आर्टिस्ट हुन् । घर सम्पत्ति उनीहरुको बीचमा बाधक थिएन । सन्तोषीले सहेरै सन्तोषसँग जीवन घिसार्दै थिइन् ।
तर सन्तोषको आनीबानी पनि राम्रो भएन । उनी लागूऔषध खान थाले । घरमा बचत त के खर्च नै धौधौ हुन्थ्यो । आफ्नो कमाइभन्दा पनि उनीहरुलाई माइतीको भर बढी हुनथाल्यो ।
दिलकुमारीले छोरीका हत्यारा सार्वजनिकस्थलमै काठमाडौं परिसरमा भनिन्, ‘मैले त ज्वाइँ भनेर राम्रोसँग राखेको थिएँ तर मेरो सर्वस्व सिध्यायो ।’
दिलमायाका दुई छोरी अमेरिकामै छन् । दुःख पाएकी सन्तोषीले मात्रै हो । लकडाउनपछि घर चलाउन समस्या भएपछि छोरी ज्वाइँ र नातिलाई लगेर उनीहरुले जोरपार्टीस्थित आफ्नै घरमा राखेका थिए । सन्तोष र सन्तोषीको १० वर्षको छोरा छ ।
लकडाउनको समयमा सन्तोष ससुरालीमै बसे । तर लागूऔषधका दुव्र्यसनी सन्तोषलाई पैसा चाहिरहने । एक वर्ष ससुराली बसेका सन्तोषले एक महिनापहिले भने जेठीसासूको ब्यागबाट पैसा चोरे ।
ज्वाइँले चोरे पनि सन्तोषीले दिदीलाई भनिन् । उनीविरुद्ध बौद्ध वृत्तमा अझै मुद्दा छ । तर सन्तोषीले ज्वाइँविरुद्ध मुद्दा नगर्न दिदीलाई भनिन् । त्यसपछि भने सन्तोषको ससुराली जाने बाटो पनि टुट्यो । अनि, सन्तोष घर फर्किएका थिए ।
श्रीमानको आनीबानीले हैरान हुनथालेपछि सन्तोषी अलग्गै बस्न चाहन्थिन् । पछिल्लो समय उनले सन्तोषसँग डिभोर्स नै मागिरहेकी थिइन् । तर सन्तोष मानिरहेका थिएनन् । सन्तोषको आनीबानी र सन्तोषीले डिभोर्स मागेपछि उनीहरुको सम्बन्ध बिग्रिरहेको थियो । दुव्र्यसनमा फसेका सन्तोषसँग रातदिन कुटपिट सहेर नबस्ने स्थितिमा सन्तोषी पुगेकी थिइन् । त्यही भएर उनी माइतीमै थिइन् ।
पहिले घरमै हुँदा सन्तोषीले सानेपामा महिला समूहबाट ऋण लिएकी थिइन् । त्यसको किस्ता तिर्न हरेक महिनाको २ गते सन्तोषी घर जान्थिन् । त्यो दिन पनि सन्तोषी आउँछिन् भन्ने सन्तोषलाई थाहा थियो ।
तर उनले मार्ने योजना नै बनाएको भने सन्तोषीलाई सुइँको थिएन । त्यसैले पनि उनी सम्बन्ध बिग्रिएका श्रीमान भएका ठाउँमा पुगेकी थिइन् ।
शव मिल्काउन नपाउँदै पुगे भाइ
त्यो दिनभर घरमा सन्तोष मात्रै थिए । बुबा भक्तपुर र भाइ गौशालामा फर्निचरको काम गर्न गइसकेका थिए । प्रहरीलाई बताएअनुसार सन्तोषी घरमा पुगेको केही समयमै सन्तोषले टाउकोपछाडि हम्मरले हानेर हत्या गरे । त्यसपछि उनले डोरीले बाँधेर शव तन्नामा पोको पारे अनि बोरामा हाले। सन्तोषीका जुत्ता भने खोलापारि मिल्काइदिए ।
दिनभर मान्छेको चहलपहलका कारण उनले शव व्यवस्थापन गर्न सकेका थिएनन् । एउटा ट्याक्सीलाई सामान कीर्तिपुरसम्म लैजानु छ भनेका थिए । तर ट्याक्सी चालक काममा छु भनेर जान मानेनन् ।
साँझ बुबा र भाइ कामबाट फर्किने भएकाले उनले शव व्यवस्थापन गरिसक्नुपर्ने थियो । बुबा र भाइलाई फोन गरेर कहाँ छन् भनेर बुझे । उनीहरु नआउँदै शव खोलामा फाल्न वा ट्याक्सीमा हालेर बाहिर लैजान चाहे पनि वातावरण बनिरहेको थिएन ।
उनले उचित मौका कुर्दाकुर्दै भाइ पुगे। सासूले छोरीको फोन अफ छ भनिसकेपछि भाइ अतालिँदै घर आएका थिए । उनलाई थाहा थियो– सन्तोषले पहिले पनि कुटपिट गर्ने र बाँधेर राख्ने गर्थे । यस पटक पनि त्यसै गरेको होला भनेर उनी अतालिँदै आएका थिए । भाउजूलाई मारेर बोरामा हालेको अवस्थामा फेला पारे ।
श्रीमतीको आइफोन, सुनको मुन्द्रा, सुनको बाला, लकेट र २३ हजार रुपैयाँ लिएर सन्तोष फरार भए । सन्तोषले श्रीमतीको हत्या गरेर सुन र नगद लगिसकेका थिए ।
सन्तोष सोमबार राति सातदोबाटोस्थित साथीको घरमा पुगेछन् । मंगलबार फेरि उनी बल्खु नै फर्किए । प्रहरी उनलाई खोजिरहेको थियो ।
उनी भने लागूऔषधको खोजीमा लागेछन् । त्यही अवस्थामा बल्खुबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए । सन्तोषीको भने माइतीले बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका छन् ।