कोलम्बो(श्रीलङ्का),२४ वैशाख
श्रीलङ्काका प्रहरीले सप्ताहन्तदेखि राजधानीमा जारी गरेको पछिल्लो साइबर अपराध विरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामीसहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन्।
अन्तर्राष्ट्रियरूपमा अपरारधको जालो फैलाई साइबर अपराध गर्दै आएको अपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटालालगायतका माध्यामबाट वार्षिक अरबौं डलर बराबरको हिनामिन गरेको जनाइएको छ। श्रीलङ्कामा, अधिकारीहरूले गत आइतबारको कारबाहिमा दुई सन्दिग्धसहित १५७ जनालाई पक्राउ गरेको जनाएका छन्। यसै गरी बुधबार थप ७४ जनालाई पक्राउ गरिएको जनाइएको छ।
अपराधमा संलग्न व्यक्ती पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश गरी अवैधरूपमा अपराधिक कार्यमा संलग्न रहेको प्रहरी प्रवक्ता फ्रेडरिक वुटलरले बताउनुभएको छ। घोटाला केन्द्रबाट जफत गरिएका कम्प्युटर तथा मोबाइल फोनको फरेन्सिक जाँच गर्न आदेश दिएको जनाइएको छ। आइतबार पक्राउ परेका संदिग्धसँग फेला परेका कम्प्युटर र सञ्चार उपकरण पनि अनुसन्धानका लागि पठाइएको अधिकारीहरूले बताएका छन्।
श्रीलङ्काको एक होटलबाट साइबर क्यामेरा सञ्चालन गरेको आरोपमा अधिकाशं चिनियाँ नागरिक सहित १५२ जना विदेशी नागरिकलाई हिरासतमा लिएको एक महिनापछि यो कारबाहि गरिएको जनाइएको छ। आप्रवासन अधिकारीहरूले गत मार्चमा १३५ चिनियाँ नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन्।
यस अघि कोलम्बोस्थित बेइजिङ दूतावासले चिनियाँ नागरिकलाई श्रीलङ्कामा घोटालाको कारबाहीमा संलग्न हुनबाट रोक्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएको थियो। श्रीलङ्काको दूर–सञ्चार पूर्वाधार, अनुकूल भौगोलिक संरचना र अपेक्षाकृत उदार भिसा नीतिले ठगी गिरोहलाई श्रीलङ्का सक्रिय रहन प्रोत्साहित गरेको दूतावासले जनाएको छ।
सन् २०२४ मा श्रीलङ्काका अधिकारीहरूले टापुका विभिन्न भागमा साइबर अपराध विरुद्धको कारबाही गरेको आरोपमा २३० जना चिनियाँ नागरिक र २०० जना भारतीय नागरिकलाई हिरासतमा लिएको जनाइएको छ। रासस