काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्ध तथा पारस्परिक सम्मानको परम्पराअनुसार उहाँलाई उक्त मानपदवी प्रदान गरिएको हो।
नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक–अर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही ऐतिहासिक परम्पराको निरन्तरताका रूपमा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको हो।
तीन दिने औपचारिक भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठ आइतवार अपराह्न नेपाल आइपुग्नुभएको थियो। उहाँको नेपाल भ्रमणलाई दुई देशबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा समेत हेरिएको छ।
मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाका वरिष्ठ अधिकृत तथा नेपालका लागि भारतीय राजदूतलगायतको उपस्थिति रहेको थियो।
समारोहमा नेपाल र भारतबीच रहँदै आएको आपसी सैनिक सहकार्य, पारस्परिक सम्मान तथा ऐतिहासिक सम्बन्धको झल्को देखिएको थियो। दुवै देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्पराले नेपाल–भारतबीचको विशेष सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले नेपाली सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तथा दुई देशबीचको रक्षा सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
भारतीय स्थल सेनाध्यक्षको यो भ्रमणले नेपाल र भारतबीचको लामो समयदेखिको रक्षा तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।