काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि गुट वा समूह नरहेको दाबी गर्नुभएको छ। महाधिवेशन सम्पन्न भएसँगै पार्टीको आन्तरिक समायोजनको कामसमेत पूरा भइसकेकाले अब गुटबन्दीको कुनै अर्थ नरहेको उहाँले स्पष्ट पार्नुभयो।
सोमवार काठमाडौंको चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ‘क्याण्डिडेट क्लब’ घोषणा गर्दै सभापति लामिछानेले रास्वपामा एउटै पार्टी र एउटै नेतृत्व रहेको बताउनुभयो। उहाँले पार्टीभित्र फरक–फरक गुटको अस्तित्व रहेको भन्ने प्रचारमा सत्यता नभएको दाबी गर्नुभयो।
महाधिवेशन सम्पन्न भएपछि पार्टी समायोजनको सम्पूर्ण प्रक्रिया सकिएको उल्लेख गर्दै लामिछानेले अब पार्टीका नेता तथा कार्यकर्ता कुनै पनि समूह वा गुटको नाममा विभाजित हुन नहुने बताउनुभयो। उहाँले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउँदै आगामी राजनीतिक चुनौतीका लागि संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। “महाधिवेशनको समाप्तिसँगै पार्टी समायोजनको सम्पूर्ण काम समाप्त भइसकेको छ। हामी एउटा रास्वपा छौँ, एउटा नेतृत्व छ। अलग–अलग छैनौँ, फरक–फरक छैनौँ,” उहाँले भन्नुभयो।
कसैले आफूलाई कुनै गुट वा नेतासँग जोडेर परिचय दिने गरे पनि त्यसलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको उहाँको भनाइ छ। व्यक्तिगत रूपमा कसैले ‘म यो गुटको हुँ’ वा ‘मेरो नेता यो हो’ भनेर दाबी गर्न सक्ने भए पनि त्यसको पार्टी संगठनमा कुनै आधिकारिक अर्थ नरहेको उहाँले स्पष्ट पार्नुभयो।
लामिछानेले पार्टीभित्रको एकतालाई आगामी निर्वाचन र राजनीतिक गतिविधिको मुख्य आधार बनाउनुपर्ने बताउनुभयो। उहाँले व्यक्तिगत समूहभन्दा पार्टीको संस्थागत निर्णय र नेतृत्वलाई प्राथमिकता दिन कार्यकर्तालाई आग्रह गर्नुभयो।
कार्यक्रममा सभापति लामिछानेले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन निर्माणमा योगदान दिएका उम्मेदवारलाई प्राथमिकता दिने नीति रहेको समेत स्पष्ट पार्नुभयो। स्थानीय तहमा पार्टीको संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई उम्मेदवारी छनोटमा महत्व दिइने उहाँको भनाइ छ। उहाँले उम्मेदवार छनोट गर्दा केवल व्यक्तिगत लोकप्रियता वा प्रचारलाई आधार नबनाई पार्टी निर्माणमा गरेको योगदान, संगठनप्रतिको प्रतिबद्धता र स्थानीय स्तरमा जनतासँगको सम्बन्धलाई समेत मूल्याङ्कन गरिने संकेत गर्नुभयो।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा सम्भावित उम्मेदवार पहिचानको काम अघि बढाइरहेको अवस्थामा सभापति लामिछानेको पछिल्लो अभिव्यक्ति आएको हो। पार्टीभित्र गुटबन्दी नभएको दाबी गर्दै उहाँले संगठनलाई एकताबद्ध बनाएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई सन्देश दिनुभएको छ।