काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र व्यक्तित्वका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भन्ने आलोचनाको जवाफ दिँदै असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर देखाउन चुनौती दिनुभएको छ।
सोमवार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले आफ्नो अनुहारका कारण पार्टीले कम मत पाएको निष्कर्ष निकालिएको हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई पराजित गर्न आग्रह गर्नुभयो।
उहाँले लोकतान्त्रिक प्रक्रियाबाट आफूलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न असन्तुष्ट पक्षलाई खुला चुनौती दिनुभएको हो। थापाले नेतृत्व परिवर्तनको विषयलाई व्यक्तिगत आरोप–प्रत्यारोपमा सीमित नगरी आगामी महाधिवेशनमा लोकतान्त्रिक ढङ्गबाट टुंग्याउनुपर्ने बताउनुभयो।
सभापति थापाले भन्नुभयो, “मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने कुरा उठेको रहेछ । होला पनि । त्यसो हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ ।”
उहाँले महाधिवेशनमा अर्को नेताले सभापतिका लागि प्रतिस्पर्धा गरेर आफूलाई हराउन सक्ने बताउँदै त्यसका लागि निष्पक्ष र समान अवसरको वातावरण आवश्यक रहेको स्पष्ट पार्नुभयो। थापाले कांग्रेसको अधिवेशन सबै पक्षको सहभागिता, निष्पक्षता र न्यायपूर्ण प्रतिस्पर्धाका आधारमा हुनुपर्नेमा जोड दिनुभयो। अधिवेशनलाई निष्पक्ष बनाउन आवश्यक पर्ने शर्त, प्रक्रिया र व्यवस्थाबारे आफू जुनसुकै पक्षसँग छलफल गर्न तयार रहेको उहाँको भनाइ छ।
उहाँले पार्टीभित्र नेतृत्वको विषयलाई लिएर देखिएको असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने बताउँदै आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभापति थापाले नेतृत्व परिवर्तनका लागि आफू बाधक नभएको स्पष्ट पार्दै पार्टीको अधिवेशनमा सबैलाई समान अवसर र सहभागिताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार नेतृत्वको विषयलाई पारदर्शी र लोकतान्त्रिक प्रक्रियाबाट टुंगो लगाउनु नै पार्टीका लागि उपयुक्त बाटो हो।
कांग्रेसभित्र पछिल्लो समय पार्टीको नेतृत्व, चुनावी प्रदर्शन तथा संगठन सञ्चालनलाई लिएर विभिन्न कोणबाट आलोचना हुँदै आएको छ। यही पृष्ठभूमिमा सभापति थापाको पछिल्लो अभिव्यक्तिलाई नेतृत्वप्रति उठिरहेका प्रश्नको प्रत्यक्ष जवाफका रूपमा हेरिएको छ।