काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा गीतकार राजु लामाले पर्वतारोहणमा अर्को महत्वपूर्ण सफलता हासिल गरेका छन्। लामाले अफ्रिका महादेशको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो सफलतापूर्वक आरोहण गरेका हुन्।
लामाले अगस्ट ११ तारिख स्थानीय समयअनुसार बिहान करिब ९ बजे समुद्री सतहबाट ५ हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको शिखरमा पाइला टेकेका हुन्। उनको आरोहण टोलीमा आईएफएमजीए (IFMGA) माउन्टेन गाइड तथा इन्स्ट्रक्टर अबिरल राई समेत सहभागी थिए।
संगीतमार्फत नेपाली दर्शक–श्रोतामाझ लोकप्रिय बनेका लामा पछिल्लो समय हिमाल आरोहण र साहसिक यात्रामा पनि सक्रिय छन्। उनले यसअघि सन् २०२२ मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए। सगरमाथा आरोहणपछि उनको पर्वतारोहण यात्रा अझ महत्वाकांक्षी बन्दै गएको हो।
किलिमन्जारो आरोहणसँगै लामाले विश्वका सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा चारवटा शिखर सफलतापूर्वक पूरा गरेका छन्। उनको आरोहण सूचीमा सगरमाथासहित कार्स्टेन्स पिरामिड, माउन्ट एल्ब्रुस र माउन्ट किलिमन्जारो रहेका छन्।
अब लामाको सेभेन समिट यात्रा पूरा गर्न थप तीनवटा चुनौतीपूर्ण शिखर बाँकी छन्। उनले उत्तर अमेरिकाको डेनाली, दक्षिण अमेरिकाको अकोन्कागुवा र अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्नुपर्नेछ।
संगीत र पर्वतारोहणलाई समानान्तर रूपमा अघि बढाउँदै आएका लामाको यो उपलब्धिलाई नेपाली कला क्षेत्रसँगै साहसिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। सांगीतिक यात्राबाट प्राप्त लोकप्रियतालाई पर्वतारोहणमार्फत नयाँ उचाइमा पुर्याउँदै गरेका लामाले सेभेन समिट पूरा गर्ने लक्ष्यतर्फ आफूलाई थप एक कदम अगाडि बढाएका छन्।.jpeg)
किलिमन्जारोको सफल आरोहणपछि अब उनको ध्यान बाँकी तीन महादेशका सर्वोच्च शिखरमा केन्द्रित हुनेछ। सेभेन समिट पूरा गर्ने उनको अभियानले नेपालमा पर्वतारोहणप्रतिको आकर्षण र नेपाली कलाकारको साहसिक पहिचानलाई समेत अन्तर्राष्ट्रियस्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।