काठमाडौं । पूर्वमन्त्री एवं पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले मुलुकमा बढ्दै गएको युवा पलायन, भ्रष्टाचार, बेथिति र सुशासनको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले देशभित्रै रोजगारी, अवसर, शान्ति र सुरक्षित भविष्यको वातावरण निर्माण गर्न नसक्दा ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भएको बताउनुभएको हो ।
‘अनलाइनखबर’द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै सिन्हाले नेपाली युवाहरू स्वदेशमै अवसर र शान्ति सुव्यवस्थाको खोजीमा रहेको बताउनुभयो । देशभित्र पर्याप्त अवसर सिर्जना हुन नसक्दा आफ्नो ऊर्जावान् उमेर विदेशमा बिताउनुपर्ने बाध्यता युवाका लागि मात्र नभई मुलुककै भविष्यका लागि गम्भीर चुनौती भएको उहाँको धारणा थियो । सिन्हाले वैदेशिक रोजगारीका लागि विदेश पुगेका नेपाली युवाले भोग्नुपरेका कठिनाइ र स्वदेश फर्कंदाको पीडादायी अवस्थाप्रति पनि ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार कतिपय युवा लामो समय विदेशमा श्रम गरेर विभिन्न शारीरिक चुनौतीसहित स्वदेश फर्किरहेका छन् भने कतिपयको शव नै बन्द बाकसमा फर्किने दुःखद् अवस्था छ ।
उहाँले यस्तो अवस्था अन्त्य गर्न राज्यका सम्बन्धित निकाय संवेदनशील र गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । नेपाली नागरिकले रोजगारी र अवसरका लागि विदेश जानुपर्ने अवस्था भए पनि विदेशमै ज्यान गुमाएर फर्किनुपर्ने बाध्यता कम गर्न राज्यले प्रभावकारी नीति र सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।
सिन्हाले भन्नुभयो, ‘जीवनको ऊर्जावान् समय प्रवासमा बिताएर स्वदेश फर्कंदा कतिपय शारीरिक चुनौतीका साथ त कतिपय बन्द बाकसमा फर्किनुपर्ने दुःखद् अवस्था छ । अब कुनै पनि नेपालीले ज्यान गुमाउन नपरोस् र कसैले पनि औपचारिकताको आँसु बगाउनु नपरोस् ।’
गाउँ रित्तिँदै गएकोमा चिन्ता
पूर्वमन्त्री सिन्हाले ठूलो संख्यामा युवा विदेश पलायन हुँदा देशका गाउँघर रित्तिँदै गएको र त्यसको प्रत्यक्ष असर सामाजिक तथा आर्थिक जीवनमा परेको बताउनुभयो । रोजगारी तथा अध्ययनका लागि युवा विदेशिने क्रम बढ्दै जाँदा गाउँमा वृद्धवृद्धा, बालबालिका र आश्रित जनसंख्या मात्रै रहने अवस्था सिर्जना हुँदै गएको उहाँको भनाइ थियो देशभित्र नागरिकको दैनिक जीवन सहज हुन नसकेको, रोजगारी तथा आर्थिक अवसरको अभाव रहेको र सुशासन कमजोर हुँदा आम नागरिकमा निराशा बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । यस्ता समस्यालाई केवल आर्थिक विषयका रूपमा नभई राज्यको शासन प्रणाली र राजनीतिक जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने सिन्हाको धारणा थियो ।
यद्यपि निराशा र असन्तुष्टिका बीच पनि नेपाली युवाहरू मौन नरहेको उहाँले बताउनुभयो । भ्रष्टाचार, बेथिति र शासन प्रणालीमा देखिएका कमजोरीविरुद्ध युवाहरू सडकमा ओर्लिएर आवाज उठाउनु उनीहरू देशको अवस्थाप्रति सचेत र जिम्मेवार रहेको प्रमाण भएको सिन्हाले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार युवाहरूले परिवर्तनको अपेक्षा राख्नु स्वाभाविक हो । उनीहरूको आवाजलाई दबाउने वा बेवास्ता गर्नेभन्दा त्यसका पछाडि रहेका कारण पहिचान गरी राज्यले समाधान खोज्नुपर्ने आवश्यकता छ ।
जनादेशको सम्मान गर्न आग्रह
सिन्हाले जनताले आफ्नो मत र जनादेशको अवमूल्यन भएको हेर्न नचाहेको बताउनुभयो । निर्वाचनमार्फत नागरिकले दिएको जनादेशलाई राजनीतिक नेतृत्वले सम्मान गर्नुपर्ने र जनताको अपेक्षाअनुसार शासन सञ्चालन गर्नुपर्ने उहाँको धारणा थियो ।
उहाँले भन्नुभयो, ‘जनताले आफ्नो जनादेशको अवमूल्यन भएको देख्न चाहँदैनन् । प्रतिशोध साध्ने, जडसूत्रवादी प्रवृत्ति कायम राख्ने वा आर्थिक क्षेत्रमा त्रास सिर्जना गरी शक्ति प्रदर्शन गर्न जनताले मत दिएका होइनन् ।’
राजनीतिक शक्ति र राज्यका निकायले जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनताको मतलाई व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्थाप्रतिको विश्वास कमजोर बनाउन सक्ने उहाँको संकेत थियो ।
संवैधानिक संकट र निर्वाचनको स्मरण
सिन्हाले वि.सं. २०८२ मा देखिएको संवैधानिक संकटका समयमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुभयो । त्यसैगरी तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले सम्पन्न गरेको निर्वाचनलाई पनि उहाँले नेपालको लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण घटनाका रूपमा उल्लेख गर्नुभयो उहाँले १ करोड १२ लाखभन्दा बढी नागरिकको सहभागितामा भएको उक्त निर्वाचनले विषम परिस्थितिमा समेत नेपाल लोकतान्त्रिक प्रक्रिया सञ्चालन गर्न सक्षम राष्ट्रका रूपमा स्थापित भएको तर्क गर्नुभयो ।
सिन्हाका अनुसार राजनीतिक तथा संवैधानिक संकटका बीच पनि निर्वाचन सम्पन्न हुनु र ठूलो संख्यामा नागरिकको सहभागिता हुनु लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वासको महत्वपूर्ण संकेत हो । यस्तो उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउने जिम्मेवारी राजनीतिक नेतृत्व र राज्यका सबै अंगको रहेको उहाँको धारणा थियो ।
युवाको आवाजलाई सम्बोधन गर्नुपर्ने
सिन्हाले युवाको असन्तुष्टि र आन्दोलनलाई केवल राजनीतिक गतिविधिका रूपमा बुझ्न नहुने बताउनुभयो । रोजगारीको अभाव, भ्रष्टाचार, सुशासनको कमजोरी, अवसरको असमानता र भविष्यप्रतिको अनिश्चितताले युवामा निराशा सिर्जना गरेको भन्दै त्यसको समाधानका लागि राज्यले दीर्घकालीन नीति बनाउनुपर्ने उहाँको भनाइ थियो ।
युवाहरूलाई देशमै भविष्य निर्माण गर्न सक्ने वातावरण सिर्जना गर्न शिक्षा, रोजगारी, उद्यमशीलता र सुरक्षित लगानीको वातावरण आवश्यक रहेको उहाँले बताउनुभयो । देशभित्र अवसरको अभाव भइरहँदा युवालाई विदेश जानबाट रोक्ने प्रयास मात्र प्रभावकारी नहुने भन्दै स्वदेशमै आकर्षक अवसर सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्समा मात्र निर्भर अर्थतन्त्रलाई दीर्घकालीन समाधानका रूपमा लिन नसकिने संकेत गर्दै युवाको सीप, ऊर्जा र क्षमतालाई स्वदेशको विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
सिन्हाले भ्रष्टाचार र बेथितिविरुद्ध युवाले उठाएको आवाजलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै सम्बन्धित निकायलाई नागरिकका गुनासा र असन्तुष्टिप्रति संवेदनशील बन्न आग्रह गर्नुभयो । राज्यले समयमै जनताको आवाज सुनेर आवश्यक सुधार अघि बढाउन नसके निराशा थप गहिरिन सक्ने उहाँको भनाइ थियो ।
पूर्वमन्त्री सिन्हाले देशको वर्तमान अवस्था सुधार गर्न राजनीतिक नेतृत्व, राज्यका निकाय, नागरिक समाज र युवासहित सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सुशासन, जवाफदेहिता र नागरिकको सम्मानलाई शासनको केन्द्रमा राख्न सके मात्रै मुलुकमा बढ्दो निराशा कम गर्न सकिने उहाँको धारणा थियो ।
सम्बन्धित निकायले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, स्वदेश फर्कने युवाका लागि अवसर तथा देशभित्रै रोजगारी सिर्जनाका विषयमा गम्भीरतापूर्वक काम गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो । साथै, भ्रष्टाचार र बेथितिविरुद्ध उठेका नागरिक तथा युवा आवाजलाई सकारात्मक रूपमा ग्रहण गरी आवश्यक सुधारको प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।