जनकपुरधाम, १५ जेठ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, युवा रोजगारी, चुरे संरक्षण तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत प्रदेशलाई उत्पादनशील बनाउने लक्ष्य लिइएको छ। “किसानका लागि उत्पादनशील मधेस, आत्मनिर्भर देश” भन्ने नारासहित कृषिको उत्पादकत्व बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, “किसानको शान, मधेसको मखान” नारालाई अघि सार्दै मखान खेतीको प्रवर्द्धन तथा व्यावसायीकरणमा जोड दिइएको छ। कृषि अनुदानलाई प्रभावकारी बनाउँदै बेरोजगार युवालाई रोजगारी र स्वरोजगारका अवसर सिर्जना गरिने नीति सरकारले लिएको छ।
नीति तथा कार्यक्रममा चुरे संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, प्राकृतिक स्रोत संरक्षण तथा वातावरणमैत्री विकासका कार्यक्रमलाई समेत समावेश गरिएको छ। साथै सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि तथा असमानता न्यूनीकरणलाई सरकारको मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गर्दै समावेशी र दिगो विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।