ललितपुर, २७ वैशाख
“नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम विकासमार्फत प्रभाव पार्ने” मूल विषयलाई केन्द्रमा राख्दै ग्रोथ फोरम नेपाल २०२६ अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।
एम्र्बाक कलेजले युनिभर्सिटी अफ रोहम्प्टन (यूके) सँगको प्राज्ञिक साझेदारीमा आयोजना गरेको यो सम्मेलन २०२६ मे ८ होटल हिमालय, ललितपुरमा सम्पन्न भएको हो। सम्मेलनमा नीति निर्माता, उद्योगी, प्राज्ञिक विज्ञ, उद्यमी, लगानीकर्ता तथा विकास साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एसएमई केन्द्रित आर्थिक बहस
दिनभर चलेको सम्मेलनमा साना तथा मझौला उद्यम तथा अतिसाना, साना र मझौला उद्यमलाई नेपालको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने विषयमा गहिरो छलफल गरिएको थियो।
एम्र्बाक कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले उद्घाटन मन्तव्य दिँदै एसएमईलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा व्याख्या गर्नुभयो। उहाँले प्राज्ञिक संस्था र बजारबीचको दूरी घटाउन अनुसन्धानमुखी अभ्यास आवश्यक रहेको बताउनुभयो।
नीति र समृद्धिको बहस
काठमाडौं विश्वविद्यालयका प्रा. डा. अच्युत प्रसाद वाग्लेले नेपाल नीति छलफलमा सीमित भएको र समृद्धि केन्द्रित कार्यान्वयन कमजोर रहेको टिप्पणी गर्नुभयो। उहाँले एसएमईलाई स्वरोजगारको सीमित दृष्टिकोणबाट बाहिर ल्याएर उत्पादन र नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।
मुख्य मन्तव्य र अन्तर्राष्ट्रिय दृष्टिकोण
भारतका डा. राजेन्द्र प्रताप गुप्ताले जर्मनीको ‘मिट्टेलस्ट्यान्ड’ मोडेललाई उदाहरण दिँदै नेपालका लागि एसएमई केन्द्रित विकास मोडेल आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले डिजिटल पहुँच, हरित ऊर्जा र महिला–युवा उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ।
एफएओका प्रतिनिधि केन शिमिजु ले कृषि–आधारित एसएमई, खाद्य सुरक्षा र ग्रामीण जीवनस्तर सुधारमा उद्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
प्यानल छलफलहरू
पहिलो प्यानल छलफलमा व्यवसाय गर्न सहज वातावरण, नियमन सुधार र डिजिटल सुशासन विषयमा चर्चा भयो। नेपाल उद्योग परिसंघ अध्यक्ष विरेन्द्र राज पाण्डेले ‘सिंगल डोर नीति’ आवश्यक रहेको बताउनुभएको छ भने राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गानाले डिजिटल साक्षरता र समावेशी नीतिमा जोड दिनुभयो।
महिला उद्यमी संघकी अध्यक्ष दर्शना श्रेष्ठले वित्तीय पहुँच र बजार पहुँच महिलाका लागि प्रमुख चुनौती भएको उल्लेख गर्नुभयो।
दोस्रो प्यानलमा वित्तीय पहुँच र लगानी संरचनाबारे छलफल भयो। भेन्चर क्यापिटलको विस्तार, ग्रामीण उद्यमको औपचारिकीकरण र क्षेत्रीय नीति आवश्यकतामा जोड दिइयो।
एआई र भविष्यको शिक्षा
टेक्नो इन्डिया युनिभर्सिटीका प्रा. उज्ज्वल अनु चौधरीले एआई युगमा निरन्तर सिकाइ अनिवार्य भएको बताउँदै राष्ट्रिय स्तरको एआई साक्षरता अभियान आवश्यक रहेको सुझाव दिनुभयो।
एम्र्बाक रिसर्च रिभ्यु सार्वजनिक
कार्यक्रमको अवसरमा एम्र्बाक रिसर्च रिभ्यु भोल्युम २ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यसलाई नेपाल केन्द्रित अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणको महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरिएको छ।
निष्कर्ष र नीतिगत सिफारिस
सम्मेलनले नेपालका लागि चार प्रमुख प्राथमिकता पहिचान गरेको छः
डिजिटल एकीकृत ‘सिंगल डोर नीति’, प्रादेशिक समावेशी सुशासन, व्यावहारिक र स्थानीय शिक्षा प्रणाली, बैंकिङ क्षेत्रमा रहेको तरलता उत्पादनशील क्षेत्रमा रूपान्तरण।
आयोजकले सम्मेलनलाई नेपाललाई निर्वाहमुखी अर्थतन्त्रबाट नवप्रवर्तनमुखी अर्थतन्त्रतर्फ लैजाने महत्वपूर्ण प्रयासका रूपमा लिएको जनाएको छ।