कायरो, ३ वैशाख
करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ। यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुट्नुभएको छ।
मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यसहित भएको यो उच्चस्तरीय पहलले अमेरिका र इरानबीच दोस्रो चरणको प्रत्यक्ष संवादको सम्भावना पुनर्जीवित गरेको सङ्केत दिएको छ। ह्वाइट हाउसले पनि इस्लामाबादमा थप वार्ता हुन सक्ने उल्लेख गरेको छ, यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन।
यसअघि इस्लामाबादमै भएको प्रत्यक्ष संवादले दुई पक्षबीचको मतभेद घटाउन मद्दत गरेको अधिकारीहरूले बताएका छन्। त्यसकै निरन्तरताका रूपमा विशेषगरी युद्धविरामको समयसीमा सकिनुअघि अर्को चरण सुरु गर्ने लक्ष्यसहित पाकिस्तानले पुनः वार्ताको वातावरण बनाउन खोजिरहेको छ।
तर कूटनीतिक प्रयाससँगै दबाबको रणनीति पनि जारी छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्ने मुलुकहरूमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभयो। उहाँले यसलाई बम आक्रमणको ‘वित्तीय समकक्ष’ का रूपमा व्याख्या गर्नुभएको छ।
यता क्षेत्रीय स्रोतहरूका अनुसार अमेरिका र इरानबीच युद्धविराम थप विस्तार गर्ने विषयमा ‘सैद्धान्तिक सहमति’ बनेको छ, जसले थप वार्ताका लागि समय उपलब्ध गराउनेछ। यद्यपि, इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी र तेहरानका कडा प्रतिक्रियाले यो सहमति अझै संवेदनशील अवस्थामा रहेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग प्रारम्भिक छलफल गरिसक्नुभएको छ। तर, इरानी सैन्य नेतृत्वबाट आएका कडा अभिव्यक्तिहरूले स्थिति अझै जटिल रहेको सङ्केत दिएका छन्। इरानले नाकाबन्दी नहटाइए क्षेत्रीय व्यापार अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सर्वोच्च नेतृत्वका सल्लाहकारहरूले युद्धविराम विस्तारप्रति असन्तुष्टि जनाएका छन्।
वार्ताका मुख्य अवरोधहरू पनि स्पष्ट देखिएका छन्। इरानको आणविक कार्यक्रम, होर्मुज जल डमरूमध्यको नियन्त्रण र युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति—यी तीन विषयमा सहमति जुटाउन मध्यस्थकर्ताहरूले दबाब बढाइरहेका छन्। इरानले युरेनियम संवर्धनबारे छलफल गर्न तयार रहेको जनाए पनि आफ्नो आवश्यकतानुसार संवर्धन जारी राख्न पाउनुपर्ने अडान दोहोर्याएको छ।
युद्धको प्रभाव विश्वव्यापी रूपमा महसुस भइरहेको छ। होर्मुज जल डमरूमध्य हुँदै हुने तेल ढुवानी प्रभावित हुँदा ऊर्जा बजार अस्थिर बनेको छ। तेलको मूल्य आकासिएपछि इन्धन, खाद्यान्न र अन्य आवश्यक वस्तुको मूल्य वृद्धि विश्वभर देखिएको छ। यद्यपि, हालै युद्ध अन्त्य हुने आशामा तेलको मूल्य केही घटेको छ र अमेरिकी सेयर बजारले पनि नयाँ उचाइ छोएको छ।
यसबीच चीनले पनि कूटनीतिक पहललाई समर्थन गर्दै होर्मुज जल डमरूमध्य पुनः खोल्न आग्रह गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले शान्तिको अवसर खुलिरहेको उल्लेख गर्दै इरानको सार्वभौमिकता सम्मान गर्दै जलमार्गको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
अमेरिकी सेनाले इरानी ढुवानीमाथि लगाएको नाकाबन्दी अझै प्रभावकारी रहेको जनाएको छ। हालसम्म कुनै जहाजले उक्त नाकाबन्दी पार गर्न नसकेको र केही जहाजहरूलाई फर्काइएको जानकारी दिइएको छ। यो कदम इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उद्देश्यले चालिएको हो।
यसैबीच, इजरायल–लेबनान मोर्चामा पनि तनाव घटेको छैन। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र स्थल कारबाही जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्धको अभियान जारी राख्ने बताउनुभएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा तीन जना प्यारामेडिक्सको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। यसले मानवीय सङ्कट अझ गहिरिँदै गएको संकेत गरेको छ।
सन् १९४८ मा इजरायल स्थापना भएयता लेबनानसँगको द्वन्द्व औपचारिक रूपमा अन्त्य नभएको अवस्थामा अहिलेको अवस्था थप जटिल बनेको देखिन्छ। यस समग्र परिस्थितिमा पाकिस्तानको मध्यस्थताले कूटनीतिक समाधानतर्फ नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ। रासस/एपी