झापा, २७ चैत
बुद्धशान्ति–३ स्थित मेची राजमार्गको चारआली–बुधवारे सडक किनारमा एउटा सानो भाडाको घर छ, जहाँ सञ्जयकुमार गुप्ता साइकल मर्मत गर्नुहुन्छ भने उहाँकी पत्नी अनिता चटपटे र किराना पसल चलाउनुहुन्छ। यही पसलको एउटा कुनामा बसेर २० वर्षीय भुवनकुमार गुप्ता भविष्यको सुन्दर तस्बिर कोरिरहनु भएको छ। जसको शरीरको छाला लाखौँमा देखापर्ने एउटा दुर्लभ वंशाणुगत रोगका कारण खस्रो र कत्लैकत्ला छ, तर मनमा भने ‘बैङ्कर’ बन्ने एउटा चम्किलो सपना फक्रिरहेको छ।
भुवन ‘इक्थियोसिस’ नामक जन्मजात र दुर्लभ स्वास्थ्य समस्यासँग जुधिरहनु भएको छ। चिकित्सा विज्ञानका अनुसार यो त्यस्तो अवस्था हो, जहाँ शरीरले पुराना र मृत कोषिका समयमै फाल्न सक्दैन। नतिजास्वरूप ती कोषहरू छालाको सतहमा जम्मा भएर कत्ला बन्छन्। गर्मी याममा छाला फुटेर रगत बग्ने भएकाले भुवनका लागि यो समस्या झन् कष्टकर बन्छ।
शरीरमा जतिसुकै पीडा र मनमा चिन्ता भए तापनि भुवनले पढाइलाई जहिल्यै प्राथमिकतामा राख्नुभयो। उहाँ हाल बुद्ध शान्तिस्थित रमेश सीता क्याम्पसमा स्नातक प्रथम वर्षमा वाणिज्यशास्त्र अध्ययन गरिरहनु भएको छ। उहाँ पढाइमा मात्र होइन, घरको जिम्मेवारीमा पनि उत्तिकै सचेत हुनुहुन्छ। बुबाको साइकल पसलमा टायर फेर्नेदेखि आमालाई चटपटे पसलमा सघाउनेसम्मका काम उहाँ मुस्कुराउँदै गर्नुहुन्छ। “मेरा लागि बुवाआमाले धेरै दुःख गर्नुभएको छ,” भुवन भन्नुहुन्छ, “मलाई आफ्नै खुट्टामा उभिएर देश र परिवारको सेवा गर्ने इच्छा छ। राम्रो पढेर बैङ्कर बन्न चाहन्छु, मेरो सपना भनेकै यही हो।”
छालाको समस्या वंशाणुगत भएकाले यसको खास निदान छैन। भुवन भन्नुहुन्छ, “घाम र गर्मीमा गाह्रो हुन्छ। अझ रगत बग्यो भने धेरै दुख्छ। त्यस्तो अवस्थामा कलेज जान पनि सक्दिन।” पसलको आम्दानी नै गुप्ता परिवारको गुजारा र सन्तानको शिक्षादीक्षाको आधार हो। भुवनका दुई जना भाइ छन्। माहिलो सुलोक गुप्ता १६ वर्षका र कान्छो सरोज १४ वर्षका छन्। तीनै जना दाजुभाइले विद्यालय र कलेजबाट फर्केर आएपछि आमाबुबालाई पसलमा काम सघाउँदै आएका छन्।
‘हे ईश्वर दया राखी अझ दुःख दे’ भन्ने उक्ति झैं सञ्जयका तीन छोरामध्ये जेठो भुवन मात्र होइन, कान्छो सरोज पनि जन्मजात ‘इक्थियोसिस’ समस्याबाट प्रभावित छन्। भुवनको झैँ सरोजको पनि शरीरभरि छाला सुक्खा भएर कत्लैकत्ला बनेका छन्। सरोज घर नजिकैको नवकिरण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् छन्। माहिलो सुलोकमा भने यो समस्या छैन। उहाँ बुद्धआदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै हुनुहुन्छ। “रोग निको बनाउन नेपालको विर्तामोड, धरान, विराटनगरदेखि भारतको सिलिगुढी र दरभङ्गासम्मको अस्पताल धाइसक्यौँ,” बुबा सञ्जयकुमार गुप्ता भन्नुहुन्छ, “जहाँ देखाए पनि वंशाणुगत रोग हो, निको हुँदैन भन्नुहुन्छ। अहिले डाक्टरलाई देखाउन छाडेका छौँ।”
भुवन र सरोजले खुट्टादेखि टाउकासम्म छाला सुख्खा भएर रगत आउने गरेकाले नरिवलको तेल दिनमा चार पटकसम्म घस्ने गरेका छन्। छालाको समस्याका कारण दुबै जनाको शरीरबाट पसिना निस्कँदैन। चिकित्सकहरुले घाममा नबस्न र धेरै पीडा भयो भने पानीले छाला भिजाउन सुझाएको भुवनले सुनाउनुभयो। शरीरभरि छालामा समस्या देखा परेता पनि भुवन र सरोजको शरीरका अन्य सबै अङ्गहरु स्वस्थ छन्।
पढाइमा तेजिलो र व्यवहारमा मिजासिला दाजुभाइले सरकार र विद्यालयबाट भने कुनै आर्थिक सहयोग पाएका छैनन्। भुवनले पढेवापत सीता रमेश क्याम्पसमा नियमित शिक्षणलगायतका शुल्क बुझाइरहेका छन्। बुद्धशान्ति गाउँपालिकाले समेत उनीहरुलाई अपाङ्गताको प्रमाणपत्र दिएको छैन। “हातखुट्टा, आँखा र दिमाग सबै राम्रो छ, अपाङ्गताको प्रमाणपत्र दिन मिल्दैन भनेपछि हामीले पनि जिद्दी गरेनौँ,” आमा अनिता गुप्ताले भन्नुभयो, “जे जस्तो दुःख गरेर भए तापनि हामीले छोराहरुको पढाइ र खुसीका लागि कुनै कमी हुन दिएका छैनौँ । स्कुल र कलेजको शुल्क पनि तिरिरहेका छौँ।”
भुवनले झापाको चर्को घाम र गर्मीका कारण हिँड्डुल र पढाइमा प्रभाव परिरहेको बताउनुभयो। अहिलेसम्म बुबाआमाको कमाईमा पढिरहेको भए तापनि अब चाहिँ कमाउँदै पढ्दै गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको उहाँले बताउनुभयो। “घाममा बाहिर निस्कनु नपर्ने र तापक्रम न्यून भइरहने कोठाभित्र बसेर काम गर्न सकिने लेखापालसम्बन्धी जागिरको खोजीमा छु,” आफ्नै खुट्टामा उभिने इच्छा व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, “बुबाआमाले जति पढे पनि चिन्ता गर्नुपर्दैन भन्नुहुन्छ। तर मेरो मनले मानिरहेको छैन, आफैँले जागिर खाएर आत्मनिर्भर बन्ने इच्छा छ।”
छोराको जागिर खाने इच्छा देखेर बुबा सञ्जयले आफ्ना चिनेजानेका साथीहरुलाई जागिरको खोजीका लागि सघाइदिन आग्रह गरिरहेको बताउनुभयो। रोजगारदाताले छालाको शारीरिक समस्या देखेर जागिर दिन आनाकानी गर्लान् कि भन्ने चिन्ता भुवनका बुबाआमालाई छ। तर, शैक्षिक योग्यता र बौद्धिक क्षमताकै आधारमा प्रतिस्पर्धा गरेर जागिर खान आफू तयार रहेको भुवनले बताउनुभयो। उहाँले आफूसँग भेट हुने अग्रजहरुलाई कोठाभित्र काम हुने जागिर खाने इच्छा सुनाउने गर्नु भएको छ। लेखापालको जागिर खुलेको भेटेमा अब दरखास्त हाल्ने सोचाइमा रहेको भुवनले बताउनुभयो।
प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्ने इच्छा भुवनले व्यक्त गर्नुभएको छ। गत फागुन २१ गते भएको आमचुनाव अघि झापाबाट ताप्लेजुङ जाने क्रममा शाहले आफ्नो पसलमा आएर रु एक हजार ५०० को फलफूलका सामान किनेर लैजानु भएको दृश्य अहिले पनि भुवनको स्मरणमा ताजै छ। “माघ ५ गतेको दिन थियो, उहाँहरु पहाड जाँदै हुनुहुन्थ्यो,” प्रधानमन्त्री हुनुअघि शाह आफ्नो पसलमा आउनु भएको घटनाको सुखद स्मरण गर्दै भुवन भन्नुहुन्छ– “एउटा गाडी हाम्रो पसल अगाडि आएर रोकियो। बुबाआमा र भाइहरुसँग म पनि पसलमै थिएँ। सरासर पसलमा आएर सामान किन्नुभयो। नमस्कार भन्न चाहिँ भ्यायौँ। बालेन बालेन भनेर पसलमा सामान किन्न आउनुभएको अरू मानिसले पनि भन्न थाल्नुभयो। एक/दुई वटा फोटो चाहिँ मोबाइलमा खिच्न भ्यायौँ। हतारमा हुनुहुन्थ्यो क्यार, उहाँ गइहाल्नु भयो।”
संयोगले आफ्नै पसलमा सामान किन्न आएको व्यक्ति आज मुलुकको प्रधानमन्त्री भएको खबरले उहाँ निकै हर्षित हुनुहुन्छ। पसलमा आउनुभएको बेला पनि प्रधानमन्त्री वालेन्द्र शाहसँग अन्तरङ्ग कुराकानी गर्ने समय नपाएकामा भने भुवनलाई पछुतो छ। त्यहीकारण फेरि एकपल्ट भेट्ने इच्छा रहेको र त्यतिबेला आफ्नो समस्या बताउनेछु उहाँले भन्नुभयो। चन्द्रकला भण्डारी / रासस