काठमाडौँ, ८ जेठ
परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण प्रभावित भएको चिया निर्यात कूटनीतिक पहलपछि सहज बनेको जानकारी दिनुभयो।
उहाँका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासीमा सहजता आएको हो।
मन्त्रालयले नेपाल–चीन परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने जनाएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सहअध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्यान्डसँग द्विपक्षीय परामर्श संयन्त्रको बैठक पनि आयोजना गर्ने तयारी गरेको छ।
कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ६ सय ८७ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। पछिल्लो दुई सातामा मात्रै ७१ जनाको उद्धार गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीका लागि कानुनी सहायताको पहल भइरहेको छ भने म्यानमारमा कैदमा रहेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक प्रयास जारी छ।
विदेशमा रहेका नेपालीलाई परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको छ। साथै, व्यक्तिगत घटना दर्तासम्बन्धी कागजातको अनलाइन प्रमाणीकरण प्रणालीलाई थप विस्तार गरिएको मन्त्रालयले जनाएको छ।
राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको र असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ। संक्रमणकालीन अवस्थालाई सहज बनाउन पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठभित्रै आवेदन दिन आग्रह गरिएको छ।
पत्रकार सम्मेलनमा संयुक्त अधिराज्यकी पार्लियामेन्ट्री अन्डर सेक्रेटरी सीमा मल्होत्राको नेपाल भ्रमण, एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिरिने प्रयास तथा विमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्ट कार्यान्वयनका विषयमा पनि जानकारी गराइएको थियो।
मन्त्रालयले आगामी जेठ २९ गते अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा मनाउने तथा प्रोफेसर यदुनाथ खनाल प्रवचन शृङ्खलाको पाँचौँ संस्करण असारमा आयोजना गर्ने तयारी गरेको जनाएको छ। साथै, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत मन्त्रालयसँग सम्बन्धित २४ बुँदामध्ये ११ वटा कार्य सम्पन्न भइसकेको जानकारी पनि दिइएको छ।