काठमाडौँ
सार्वजनिक सरोकार, गुठी सम्पत्ति संरक्षण, धार्मिक–सांस्कृतिक सम्पदा तथा प्रकृति संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका प्रकाशमणि शर्मा भुसाल पशुपतिनाथ विकास कोषको सदस्य–सचिव पदमा नियुक्त भएका छन्।
नियुक्तिपछि प्रतिक्रिया दिँदै सदस्य–सचिव भुसालले राष्ट्रिय आराध्यदेव श्री पशुपतिनाथको सेवा गर्ने अवसर प्राप्त हुनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। सार्वजनिक हितका लागि स्थापना गरिएको प्रो पब्लिक जस्तो संस्थामार्फत जीवनभर सेवा गर्दै आएको उल्लेख गर्दै उनले जीवनको उत्तरार्ध पनि यही सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले विश्वभर रहेका करिब २ अर्ब ओमकार परिवारका श्रद्धालुहरू जसले दर्शन र सेवाबाट जीवन धन्य बनाउन चाहन्छन्, त्यस्तो अतुलनीय विश्व सम्पदाको संरक्षण र विकासमा सेवा गर्ने अवसर प्रदान गरेकोमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरे।
सदस्य–सचिव भुसालले पशुपत्य क्षेत्रसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदा—जस्तै पर्व, जात्रा, पूजा परम्परा, सांस्कृतिक अभ्यास र सम्पदा संरक्षणप्रति चिन्तित स्वदेश तथा विदेशमा रहेका सबै नेपाली र विदेशी शुभेच्छुकहरूलाई सुझाव र सहयोगका लागि अपिल गरेका छन्।
उनले पशुपतिनाथ मात्र नभई मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम, चतराधाम, देवघाटधाम, रिडी–रुरुक्षेत्र लगायतका पवित्र स्थलहरूलाई विश्वकै उत्कृष्ट धार्मिक तीर्थस्थलका रूपमा विकास गर्न सके धार्मिक पर्यटन अभिवृद्धि भई देशको आर्थिक तथा सांस्कृतिक मुहार परिवर्तन गर्न सकिने धारणा व्यक्त गरे।
अन्त्यमा उनले “जय शम्भु, जय भोलेनाथ, जय राष्ट्रिय आराध्यदेव पशुपतिनाथ” भन्दै सबै नेपालीलाई, विशेषगरी देशका राजनीतिक नेतृत्वलाई सद्बुद्धि प्रदान होस् भन्ने कामना गरे। यस देवभूमिमा जन्मिने प्रत्येक नेपाली सुखी र समृद्ध बन्न धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको उनको भनाइ छ।