सिरहा,२९ भदौ
हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ। छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहनुभएको छ। शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ। उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन। तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन्।
मन बेचैनीले भरिएको छ। अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रष्ट देखिन्छ। आशा, डर अनि थोरै शङ्का। गाउँमा विजयबारे आएको खबर आधामात्र हो। “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो। तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ।
घरको आँगन चिसो लाग्न थालेको छ। तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा। भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आउनुभएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहनुभएको छ। “भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न। होसमा आएपछि खबर गर्छु।”
सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन्। गत मङ्गलबार काठमाडौँको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो। त्यही ठाउँमा ढले। साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो। घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो।
पाँच वर्षदेखि काठमाडौँमा ‘हाउसवायरिङ’को काम गर्दै आएका विजय गत साउनमा गाउँमा रोपाइँ सकेर १५ दिनअघि मात्र श्रीमती उर्मिला र चार वर्षकी छोरीसहित फेरि राजधानी फर्किएका थिए। आमाबुबाको औषधि, घरखर्च, बालबालिकाको पढाइलगायत सबै कुरा विजयको कमाइमै निर्भर थियो। तर जसको आशामा घर चलेको थियो, उनै विजय अब फर्कने छैनन्।
भाइलाई गोली लागेको खबर पाएपछि हेटौँडामा रहेकी दिदी सुशीला सोही साँझ काठमाडौँ पुग्नुभयो। उहाँले राजधानीका दर्जनौँ अस्पताल चहार्नुभयो। चौबीस घण्टापछि बल्ल सार्वजनिक सूचीमा भाइको नाम फेला पार्नुभयो। शिक्षण अस्पताल पुगेर भाइको शव पहिचान गर्नुभयो। त्यसपछि विक्षिप्त बन्नुभएकी सुशीला बुबाआमालाई सम्हाल्न गाह्रो हुने ठानेर भाइ उपचाररत रहेको झुटा कुरा बताउनुभयो। “छोरीले खबर गरिसकेकी छ, चाँडो निको होस् भनेर भगवान्सँग कामना गरेकी छु”, आमा जलेश्वरीदेवीले भन्नुभयो।
विजयको दाजु अजय वैदेशिक रोजगारीबाट शनिबार फर्किँदै हुनुहुन्छ। उहाँले नै आमाबुबालाई यो पीडादायी खबर नसुनाउने योजना बनाउनुभएको हो। सायद उहाँलाई लाग्छ, भक्कानिएको आमाबाबुको मन सम्हाल्ने कोही हुने छैनन्। यो खबर सिधै भन्नु आमाको मुटुमाथि चोट हो। गाउँमा अहिले पनि विजयको कोठा खुलै छ। उहाँको श्रीमती अझै अर्धचेत अवस्थामा हुुनुहुन्छ। छोरीले बुझ्ने उमेर छैन। तर आमाको मनमा विजयको पाइला अझै सुनिन्छ– ‘पक्कै आउँछ नि !’
सबैसँग मिलेर बस्नसक्ने उहाँको स्वभाव थियो। लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरी भन्नुहुन्छ, “विजय सधैँ शान्त स्वभावका थिए। कसैसँग झगडा गर्दैनथे। गाउँमा सबैलाई सम्झाइबुझाइ गर्थे।” उहाँका अनुसार विजय सो दिन साथीसँग सामान किन्न निस्किएका थिए। संसद् भवनअगाडि भीड देखेपछि भिडियो खिचिरहेका थिए। साथीहरूले फर्किन भनेका थिए, त्यसैबेला उहाँलाई गोली लाग्यो।
गाउँमा अहिले सिङ्गो टोल स्तब्ध छ। तर त्यो स्तब्धताभन्दा गहिरो छ, सत्यलाई लुकाएर गरिएको प्रतीक्षा। आमाबुबा जसको आँखा बाटोमा छ, जसको कान मोबाइलको घण्टीतिर छ, अनि जसको मन आशा र भयको दोधारमा बाँधिएको छ। आमालाई सत्य कहिले बताइने हो, कुनै पत्तो छैन ।रासस