काठमाडौं,११ भदौ
सडक विभागले नेपालकै पहिलो अत्याधुनिक नागढुंगा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। विभागका अनुसार हालसम्म सुरुङमार्गको ९४।५ प्रतिशत काम सकिएको छ भने बाँकी काम आगामी असोजभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ।
विभागले सुरुङमार्ग सञ्चालनसँगै सवारीसाधनबाट उपभोग दस्तुर संकलन गरेर मर्मत, सम्भार तथा दिगो व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ। यसका लागि मन्त्रिपरिषदले साउन २६ गते उपभोग दस्तुर स्वीकृत गरिसकेको छ। शुल्क संकलन इलेक्ट्रोनिक प्रणालीमार्फत गर्न आरएफआईडी प्रविधिमा आधारित टोल कलेक्सन प्रणाली जडान भइरहेको छ। यसमार्फत सवारीसाधनको विण्डसिल्डमा टाँसिने बैंक खातासँग जोडिएको आरएफआईडी ट्यागद्वारा शुल्क भुक्तानी गर्न सकिनेछ।
सुरुङमार्गको सञ्चालन र व्यवस्थापनका लागि सातै दिन २४ घण्टा सेवा उपलब्ध हुने गरी तयारी भइरहेको विभागले जनाएको छ। आपतकालीन उद्धार, आगलागी नियन्त्रण, पावर सप्लाई, लाइटिङ, भेन्टिलेसन, सञ्चार, रिमोट मोनिटरिङ, फायर फाइटिङलगायत उच्च प्रविधियुक्त प्रणालीहरू परिचालन गरिनेछ। यस्ता प्रणालीको नियमित सञ्चालन, अनुगमन तथा मर्मत सम्भारका लागि आवश्यक दक्ष जनशक्ति र सञ्चालन कार्यविधि जापानी परामर्शदातामार्फत तयार भइसकेको विभागले स्पष्ट पारेको छ।
सडक विभागले सुरुङमार्ग सञ्चालन तथा मर्मत सम्भारका लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद प्रक्रिया अघि बढाइसकेको छ। अर्थ मन्त्रालयबाट स्रोत सम्बन्धी सहमति प्राप्त भइसकेको र मन्त्रिपरिषदले खरिद निर्देशिका स्वीकृत गरिसकेको विभागको भनाइ छ। साथै, नमुना बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको चरणमा रहेको र लागत अनुमान तयार गर्ने काम भइरहेको जानकारी दिइएको छ।
विभागले सम्पूर्ण कार्य निर्धारित समयमा सम्पन्न गरी चाँडै सर्वसाधारणको प्रयोगका लागि सुरुङमार्ग खुला गर्ने तयारी भइरहेको जनाएको छ।