बाग्लुङ,२७ साउन
बाग्लुङको काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो। उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ। अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ।
घरमा बुढाबुढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको कँडेलको भनाइ छ। बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेको उहाँको भनाइ छ।
किसानले सुन्तला बारीमा अदुवा लगाउने गरेका छन्। कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन्। दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताउनुभयो।
काठेखोला गाउँपालिकाका दर्जनौं किसानले बारीमा मकै छाडेर अदुवाखेती थालेका छन्। मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन्। अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन्। तर बाँदरबाट बच्न उनीहरूले खेतीपाती परिवर्तन गरेका हुन्।
यस्तै बाँदरको आतङ्क नै भोजपुरका किसानको प्रमुख समस्या बनेको छ। वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो।
बाँदरका कारण जिल्लाका धेरै भागका स्थानीयले समस्या भोग्दै आएका छन्। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन्। मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन्।
बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौ वटै पालिकामा बाँदरले दुःख दिने गरेको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ।
बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताउनुभयो। बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उहाँको भनाइ छ। रासस