कालीगण्डकी करिडोर अवरुद्ध
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताउनुभयो ।
करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध
मकवानपुर– अविरल वर्षाका कारण पहिलो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजेको समयमा भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
पहिराका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने दुवैतर्फका सवारी साधन रोकिएका छन् । उक्त सडकखण्डमा यातायात सञ्चालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिलो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । त्यहाँको पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।
भीमदत्त राजमार्ग अवरुद्ध
गोदावरी– गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उहाँले भन्नुभयो, “थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।” अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।
हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक– लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गर्नुभएको छ । अहिले मेलम्चीबाट काठमाडाँै र काठमाडाँैबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन् । यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खरिरहेको छ ।
डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।
यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उहाँले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।
अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।