काठमाडौँ, १५ असार
हिलोमा रमाई, खेतमा पसिना बगाई, धानका बिउ रोप्ने तपाईंहरूको हातलाई सम्मान!
दही चिउरा खाई सगुनको सुरुवात गरौँ, नेपाली कृषिको गौरव बढाऔँ!
नेपालभर आज असार १५, ‘धान दिवस’ र ‘दही चिउरा खाने पर्व’ हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष असार १५ का दिन खेतमा धान रोपेर दही चिउरा खाइने परम्परा नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको छ। किसानले दिनभर खेतमा मेहनत गरेपछि दही चिउरा खाएर शक्ति सञ्चय गर्ने र शरीरमा शीतलता ल्याउने विश्वास रहिआएको छ।
 (2).png)
राष्ट्रिय धान दिवसको सुरुवात
नेपाल सरकारले वि.सं. २०६१ साल मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी वि.सं. २०६२ सालदेखि असार १५ लाई ‘राष्ट्रिय धान दिवस’को रूपमा मनाउन थालेको हो। कृषिप्रधान देश नेपालमा धान मुख्य खाद्यबाली भएकाले यसको महत्व विशेष छ।
नेपालमा धान मुख्य खाद्यबाली हो र किसानहरूको जीवनशैली, संस्कृति, र अर्थतन्त्रसँग गहिरोसँग जोडिएको छ। कृषिप्रधान देश भएकाले खेतीको सुरुवातसँगै यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने परम्परा बसालिएको हो।

धान दिवसले नेपाली कृषि संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। किसानहरूको परम्परागत धान रोपाइँ र खेती प्रणालीलाई नयाँ पुस्तामा हस्तान्तरण गराउन सहयोग पुर्याउँछ।
वर्षभर हाम्रो भान्सामा आउने अन्न उत्पादन गर्ने किसानहरूको मिहिनेत र भूमिकालाई राष्ट्रिय स्तरमा कदर गर्ने अवसरको रुपमा आजको दिनलाई लिन सकिन्छ। आजको दिन किसानहरू असारे भाका गुनगुनाउँदै हिलोमा धान रोप्दै रमाइलो गर्ने गर्छन्।

दहीको सांस्कृतिक महत्व
नेपाली संस्कृतिमा दहीलाई शुभता र स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ। शुभकार्य, यात्रामा निस्कँदा वा विदेश जाँदा दही र अक्षता मुछेर निधारमा टीका लगाउने परम्परा प्रचलित छ। त्यस्तै, सगुनका रूपमा पनि दही खुवाइने चलन छ, जसले शुभ संकेत ल्याउने जनविश्वास छ।

दही स्वास्थ्यका दृष्टिले पनि उत्तिकै लाभदायक मानिन्छ। गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खान दिएर वीरता र पराक्रमको आशीर्वाद दिएको किंवदन्ती पनि प्रचलित छ। आयुर्वेदमा भोजनपछि मोही (मथेको दही) सेवन गर्नाले औषधिको आवश्यकता नपर्ने उल्लेख गरिएको छ। पाचन प्रणाली सुधार गर्ने र पखाला जस्ता स्वास्थ्य समस्यामा दही चिउरा उपयोगी हुने विश्वास नेपाली समाजमा गहिरिएको छ।

आजको दिन खेतीपाती बाहेक अन्य व्यवसायमा संलग्न नेपालीहरू पनि दही चिउरा खाएर असार १५ मनाउने गर्छन्।
राष्ट्रिय धान दिवस केवल एक पर्व नभई नेपालको कृषि, संस्कार र जीवनशैलीसँग गहिरो सम्बन्ध भएको राष्ट्रिय महत्वको दिन हो।
असार १५, धान दिवसको अवसरमा हाम्रा मेहनती किसान आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमन र हार्दिक शुभकामना।
तपाईंहरूको पसिना र समर्पणले हामी सबैको भान्सामा अन्न पुग्दछ, समाज अघिल बढ्दछ र राष्ट्र समृद्धितर्फ लम्किन्छ।