पर्वत, १२ असार
पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पालन गर्ने कृषकलाई प्रोत्साहनस्वरूप अनुदान वितरण गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएको ‘स्थानीय गाई/गोरू संरक्षण कार्यक्रम’ अन्तर्गत चयन भएका कृषकहरूलाई अनुदान प्रदान गरिएको हो।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि अनुदान वितरण कार्य सुरु गर्नुभएको हो। कार्यक्रमका लागि गाउँपालिकाले दुई शीर्षकमा गरी १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाका पशु विकास अधिकृत सन्देश गौडेलका अनुसार, पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा गाई र ५४ वटा हलगोरू पाल्ने कृषक अनुदान पाउन योग्य भएका छन्।
गाईका लागि प्रतिगोटा २,००० रुपैयाँ र हलगोरूका लागि प्रति जोडी ८,००० रुपैयाँका दरले अनुदान वितरण भइरहेको छ। सार्वजनिक सूचना जारी गरी तोकिएको मापदण्ड अनुसार कृषकहरू छनोट गरिएका हुन्।
गाउँपालिका अध्यक्ष आचार्यले स्थानीय गाई संरक्षण र हलगोरू पालन कृषकलाई प्रोत्साहनले खेतीपाती विस्तार र बाँझो जमिन प्रयोगमा सहयोग पुगेको बताउनुभयो। गाउँपालिकामा हलगोरू पाल्ने कृषकहरूको संख्या पनि बर्सेनि वृद्धि भइरहेको छ।
यद्यपि गाउँपालिकाले पहाडी भेगका कृषकलाई मिनी टिलर वितरण गरे पनि भिराला र दुर्गम क्षेत्रमा मशीन पुर्याउन गाह्रो भएकाले परम्परागत हलगोरू पालनमा जोड दिइएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो।
यो कार्यक्रम २०७९/८० सालदेखि निरन्तर चल्दै आएको हो र आगामी आर्थिक वर्ष २०८२/८३ मा पनि १३ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। यस्तै, पर्वतकै पैंयू गाउँपालिकाले पनि आगामी वर्ष हलगोरू पाल्ने कृषकलाई अनुदान दिने तयारी गरेको छ। हाल कृषिमा आधुनिक उपकरण चलाउने जनशक्ति अभाव भइरहेकाले गाउँपालिकाहरू परम्परागत गोरू जोत्ने प्रणालीलाई प्रोत्साहित गर्न थालेका हुन्।