वालिङ (स्याङ्जा), २८ जेठ
स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–१ चौरका युवा असिम तिवारीले विदेशमा आर्जन गरेको सीपको सदुपयोग गर्दै स्वदेशमै व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन्।
रसियामा दुई वर्ष कृषि क्षेत्रमा काम गर्दै अनुभव संकलन गरेका तिवारी केही समयअघि मातृभूमिमा फर्किएपछि आफ्नै गाउँमा कृषि व्यवसाय सुरु गर्ने लक्ष्यसहित अघि बढेका हुन्। फर्किएको दुई–तीन महिनामै उनले अकबरे खुर्सानीखेतीको योजना बनाएर कार्यान्वयनमा ल्याएका हुन्।
"देश तथा विदेशमा अकबरे खुर्सानीको माग उच्च देखेपछि व्यवसायिकरूपमा खेती सुरु गरेको हुँ", तिवारीले भने, "अगाडि बढ्न विदेशको अनुभवले साथ दिएको छ।"
‘मातृभूमि कृषि तथा पशुपक्षी फार्म’ नामक व्यवसाय दर्ता गरी उनले ३० रोपनी जमिन भाडामा लिएर खेती सुरु गरेका छन्। जमिनको व्यवस्थापनदेखि मलखाद, औजार, नर्सरी उत्पादन र रोपाइँसम्मका सबै काम उनले स्वयम्को अग्रसरतामा सम्पन्न गरेका हुन्। जेठको पहिलो साताबाट उनले खुर्सानी रोपेका छन्।
तिवारीका अनुसार हालसम्म करिब २५ लाख रुपैयाँ लगानी भइसकेको छ। "३० रोपनी जमिनमा करिब २५ हजार अकबरे खुर्सानीका बिरुवा रोपिएको छ", उनले जानकारी दिए। अनुकूल हावापानीका कारण यहाँ अकबरे खुर्सानी खेतीका लागि उपयुक्त भएको तिवारी बताउँछन्।
एक बोटबाट एकदेखि तीन किलोसम्म उत्पादन हुने अनुमान गरिएको छ। तिवारीको यस प्रयासमा हाल दुई जना अन्य युवा पनि सहभागी छन्। साथै, नगरपालिकाका कृषि प्राविधिकहरूबाट निरन्तर प्राविधिक सल्लाह र अनुगमन भइरहेको छ।
"देश फर्केर सिकेको सीपलाई आफ्नै गाउँमा प्रयोग गर्दै यहीं केही गरौं भन्ने सोच थियो", तिवारीले भने, "यसपालि खुर्सानीखेती सुरु गरेको छु, अबको वर्षदेखि बाख्रापालन पनि विस्तार गर्ने योजना छ।"
गाउँघरमा बाँझो जमिन बढ्दै गएको अवस्थामा युवाको यो पहलकदमीले खेतीपातीप्रति स्थानीयको चासो पनि बढाएको छ। तिवारीको फार्ममा अहिले आसपासका बासिन्दाहरू जानकारी लिन आउन थालेका छन्।