राजनीतिक चेतनाले बाल्यकालदेखि नै मलाई छोएको हो । म सात /आठ कक्षा पढ्दै गर्दा नै विद्यालयमा हुने कार्यक्रमहरू, प्रभात फेरि, झण्डा फहराउने विभिन्न गतिविधिमा संलग्न हुन थालेकी थिएँ । त्यतिबेला म राजनीति भन्नाले केवल दल र नेताहरू बुझेकी थिएँ । तर क्रमश बुझ्दै गएँ कि राजनीति भनेको देश र समाज रूपान्तरण गर्ने एउटा वैचारिक शक्ति हो ।
विक्रम सम्वत २०४६/०४७ सालको जनआन्दोलनपछि मुलुकमा प्रजातन्त्रको पून: स्थापना भयो । त्यो आन्दोलन र त्यसको प्रभाव स्कुलका भित्तामा, सार्वजनिक भवनका भित्तामा, अन्य सार्वजनिक भवनका भित्तामा र मान्छेका व्यक्तिगत घरका भित्तामा पनि देखिन्थ्यो । विद्यार्थी संगठनका भित्तेपत्रहरू, पर्चाहरू, जनसभा र जनसांस्कृतिक कार्यक्रम जस्ता गतिविधिमा भाग लिने बानीले मलाई चेतनाको मार्गमा अग्रसर गरायो । अहिलेको समयसम्म आउँदा मैले राजनीतिलाई विभिन्न विधासँग जोडेर हेर्न थालेकी छु । यस लेखमा मैले आफ्नो राजनीतिक विचारलाई समाजशास्त्रीय दृष्टिकोणबाट जोड्ने प्रयास गर्दैछु ।
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा कुनै पनि राजनीतिक परिवर्तन केवल सत्ता परिवर्तन मात्र होइन सामाजिक संरचनाको पनि पुनर्नरचना हो । राणा शासन, पञ्चायती व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा नेपाली समाजमा वर्ग, जात, लिङ्ग र क्षेत्रीय भेदभावमा परिवर्तन आएको देख्न सकिन्छ ।
अघिल्लो पुस्ताको जीवनशैली सीमित थियो । हाम्रा आमाहरूको पुस्ताले चुलो, चौका मेलापात र घरको परिधिमा सिमित जीवन बिताउनु भएको थियो । तर आजका युवतीहरू सामुदायिक संस्था, विभिन्न महिला समूह, बचत समूह, सहकारी, जागिर, व्यवसाय वा राज्यका अङ्गका विभिन्न तह र तप्कामा बसेर काम गर्नुका साथै जनप्रतिनिधिका माध्यमबाट निर्णय प्रक्रियामा सहभागी भइरहेका छन् । यसले हाम्रो चेतनाको घेरा फराकिलो हुँदैछ भन्ने संकेत गरेको छ। तर चेतनाको विकास समानान्तर रुपमा सबै वर्ग र समुदायमा पुगेको छैन भन्ने यथार्थ हामीले बुझ्नुपर्छ ।
हाल देशभर भएका थुप्रै सङ्घसंस्था र सामाजिक एवम् राजनीतिक संगठनहरूले सामाजिक रूपान्तरण, महिला सशक्तिकरण, बाल अधिकार, महिला अधिकार, वातावरण संरक्षण, युवा नेतृत्व, शिक्षा, स्वास्थ्य जस्ता असंख्य क्षेत्रमा काम गर्दै आएका छन् । तर संघ, संस्था र संगठनहरूको वृद्धिको अर्थ तिनीहरूको प्रभावकारिता र सामाजिक उत्तरदायित्वमा पनि वृद्धि भएको हो भन्न पूर्णरूपमा सकिँदैन । यस्ता संघसंस्था र संगठनहरूमा सहभागीहरू सीमित छन्। बैठक, गोष्ठी, तालिम जस्ता कार्यक्रममा देखिने उपस्थिति हुन्छ । तर निर्णय प्रक्रियामा समावेशी पूर्ण प्रजातान्त्रिक पद्धतिबाट सहभागिता कमै देखिन्छ । कतिपय संस्थामा आन्तरिक लोकतन्त्रको अभावले गर्दा नेतृत्व सधैँ एउटै व्यक्तिमा वा समूहमा केन्द्रित भएको पनि देखिन्छ ।
संस्थागत नेतृत्वको प्रक्रिया पहुँच, पहिचान र सम्बन्धको वरिपरि घुमिरहेको देखिन्छ । सबैका लागि समान अवसर भन्ने आदर्श बोकेका संस्थामा समेत भागबण्डा, गुटबन्दी र पूर्व निश्चित निर्णय प्रक्रियाले निष्पक्ष प्रतिस्पर्धाको अवसर समाप्त गरिरहेको छ । विशेषतः महिला, दलित, जनजाति, मधेसी, युवा र अपाङ्गता भएका व्यक्तिहरूका लागि नेतृत्वका ढोका अझै संगिन छन् । यद्यपि सहभागिता देखाउने कार्यक्रमहरू बढी छन् तर निर्णायक भूमिकामा भने चिनेजानेका अनुहार नै बारम्बार चयन गरिन्छन् । के पूर्व मुख्य नेतृत्वहरू सल्लाहकारको रुपमा बसेर त्यस संघसंस्था वा संगठनलाई सुदृढ बनाउँदै लैजान सकिँदैन र ?
गणतन्त्रको स्थापना पश्चात् समाजमा अधिकांश कार्यक्रम स्थानीय स्तरबाट नै आयोजना गरिन्छन् । तालिम, अन्तरक्रिया, अनुभव आदानप्रदानका गोष्ठीहरूमा सहभागी चयन गर्ने आधारमा पारदर्शिता छैन । कतिपय ठाउँमा सूचनाको पहुँच र प्रचार प्रसार नै एक सीमित घेरामा राखिन्छ। कार्यक्रममा बोलाइनु भनेको सक्रिय सहभागिता होइन । केवल उपस्थित भएर फोटो खिचाउनु र त्यसपछि यति जनाको वा यति महिलाको सहभागिता भयो भन्ने तथ्याङ्क पेश गर्नु सहभागिताको गहिरो अर्थ होइन । कहिलेकाहीँ सहभागीहरूसँग कार्यपत्र नै साझा नगरिने, छलफलमा उनीहरूलाई बोल्न नदिने वा उनीहरू बोले पनि त्यसको निष्कर्षमा प्रभाव नपर्ने अवस्था देखिन्छ । यस्तो व्यवहारले सहभागितालाई मात्र होइन संस्थाको नैतिक र सामाजिक विश्वासनीयतालाई समेत खलबल्याएर समाजमा नकारात्मक हल्ला पुगेको हुन्छ ।
नेतृत्वको पुनरावृत्ति र हस्तान्तरणको अप्ठ्यारो परिस्थिति स्थानीय स्तरमा व्यापक देखिन्छ । नेतृत्वका लागि चाहिने गुणहरू जस्तै: दूरदर्शिता, निर्णय क्षमता, समावेशी दृष्टिकोण, उत्तरदायित्व र नैतिकता जस्ता गुणहरू अभ्यासबाट देखापर्ने हुन् । तर नेतृत्व सधैँ गुट, सञ्जाल र सम्बन्धका आधारमा चयन गरिँदा नयाँ सोच, नयाँ शैली र आवश्यक सुधारको ठाउँ बन्द हुन्छ ।
नेतृत्व हस्तान्तरण एउटा संस्था र समुदायको दिगोपनको सूचक हो । तर हाम्रो अभ्यासमा नेतृत्व हस्तान्तरण कठिन कार्य जस्तै देखिन्छ । पहिले नेतृत्व गरेका व्यक्ति नै फेरि चयन हुने, युवा वा नयाँ र सक्षम अनुहारलाई अनुभव छैन भनेर अगाडि आउन नदिने परिपाटी पनि बाक्लै भेटिन्छ । अनुभवी र सक्षम व्यक्ति छ भने पनि उसलाई प्रत्यक्ष परिचित नै हुन नदिएर भित्रभित्रैबाट पछि धकेल्ने प्रवृत्तिले नयाँ, समाज हाँक्न सक्ने, समाजमा सकारात्मक प्रभाव पार्न सक्ने नेतृत्वको उदय हुन पाएको छैन । त्यस सँगसँगै संगठनमा लामो अनुभव बटुलेका, विधि, विधान, निर्देशिका, दर्शन र सांगठनिक अनुभव भएकाहरूको राजनीतिक, सामाजिक र संगठनात्मक क्षेत्रमा सक्रिय सहभागीतामा स्थानीय नेतृत्व वर्गले ध्यान नदिँदा उनीहरुमा निराशा ल्याएको छ ।
कुनै पनि संस्थामा नेतृत्वले काम गर्न नसकेको र उद्देश्य प्राप्त गर्न नसकेको खण्डमा त्यसको समीक्षा आवश्यक हुन्छ । तर हामी कहाँ आत्मा आलोचनाको संस्कृति कमजोर हुँदै गएको छ । नेतृत्वमा बसेकाहरू गल्ती स्वीकार्न हिच्किचाउँछन् । त्यसमाथि विगतमा सहकर्मी बनेका वा संस्थामा साथ दिएका व्यक्तिहरूको बदनामी गरेर आफूलाई उच्च देखाउने प्रवृत्तिले संस्थाको एकता र भविष्यको सम्भावनामा प्रतिकुल असर पार्दछ । नेतृत्व भनेको जिम्मेवारी मात्र होइन अनुशासन पनि हो । मूल्य, विधि र संरचनाको सम्मान गर्न सक्ने नेतृत्व नै दिगो र परिवर्तनशील हुन्छ ।
स्थानीय नेतृत्वमा राजनीतिक र सामाजिक चेतना एकैसाथ विकास हुनुपर्छ । धेरैजसो सामाजिक अभियन्ता वा स्थानीय नेताहरूमा सामूहिक नेतृत्व गर्ने आत्मविश्वास त हुन्छ तर कानुनी, नीतिगत र राजनीतिक संरचनाको ज्ञानको अभावले प्रभावकारी बन्न सक्दैनन् । त्यसैले सामाजिक र राजनीतिक नेतृत्वको विकासमा शिक्षा, तालिम, अनुभव, नियमित अन्तरक्रियामा भागलिने सवालमा होस् वा विषय वस्तुलाई सबैले बुझ्ने र बुझाउन सक्ने गरी प्रस्तुत हुने क्षमता उनीहरूमा हुनुपर्दछ । यसका लागि स्थानीय सरकार, नागरिक समाजको र सामाजिक, राजनीतिक संगठनहरूको समन्वयात्मक सहकार्य हुनु आवश्यक छ ।
अन्त्यमा परिवर्तन केवल राजनीतिक नारा वा भाषणबाट होइन व्यवहारबाट सुरु हुन्छ । संस्था र समुदायमा आफूले अनुभूत गर्ने समस्यालाई समाधान गर्न अग्रसर हुन सक्ने आत्मबल भएका नेतृत्वको व्यक्तिगत र सामूहिक प्रयास नै समाज रूपान्तरणको आधार हो । हामीले चेतनशील र प्रभावकारी नेतृत्वको विकास गर्न चाहन्छौं भने सुरुवात नेतृत्व वर्गले आफ्नो आत्म निरीक्षणबाट गर्नुपर्छ । के म विधि पालना गर्न सक्छु ? के म नयाँ अनुहारलाई स्थान दिन सक्छु ? के म आलोचना सहन सक्छु? के म अवसर बाँड्न सक्छु ? के म निष्पक्ष तरिकाले सबैलाई समेट्ने सक्षम नेतृत्वको समूह निर्माण गर्न सक्छु ? यदि यी प्रश्नहरूको उत्तर अन्तर मनबाट सकारात्मक छ र व्यवहारमा लागू गर्न सक्ने क्षमता छ भने हामी साँच्चिकै स्थानीय तहमा सामाजिक आर्थिक र राजनीतिक हिसाबले रूपान्तरण तर्फ उन्मुख हुने समाजको आधारशिला निर्माण गर्न सुरु गर्दैछौँ होइन भने समाजमा अझ नकारात्मक प्रचारहरू भइरहनेछन् । त्यसैले यस्ता यावत कुराहरुमा बेलैमा सोचेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ ।