राष्ट्रिय समाचार समिति
कञ्चनपुर, ११ वैशाख
शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरघुरीका किसानलाई सूचिकरण गरिएको छ। कृषि पेशा व्यवसायमा संलग्न किसानलाई उपलव्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचिकरण गरिएको हो।
किसान सूचिकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचिकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताउनुभयो।
उहाँका अनुसार नगरपालिकाको–१, ११ र १२ मा किसान सूचिकरण गरिएको छ। जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरघुरीलाई सूचिकरण गरिएको छ।
आगामी आबमा नगरपालिका–२, ३, ४, १० र ५ मा किसान सूचिकरणकार्य गरिने उहाँले बताउनुभयो। कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचिकरणकार्य गरिएको उहाँको भनाइ रहेको छ।
“सूचिकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी बर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ” उहाँले भन्नुभयो, “सूचिकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ।”