मैले बाल शिक्षादेखि कक्षा १० सम्म सरकारी विद्यालयमा पढे। कक्षा (१-८) पढ्दा सगरमाथामा मावि हाम्रो गाउँपालिकाको उत्कृष्ट विद्यालय थियो। कक्षा (९-१०) पढेको कान्ति मावि देशकै उत्कृष्ट सरकारी विद्यालयमा पर्छ। कक्षा (११-१२) विज्ञान पढेको होराइजन गौतम बुद्ध स्कुल रुपन्देहीको उत्कृष्ट निजी विद्यालय हो। मैले थोरै दिन भएपनि अध्यापन गरेको विन्ध्यावासीनी मावि पोखरा एवं समग्र नेपालको उत्कृष्ट विद्यालय भित्रै पर्दछ।
सगरमाथामा धेरै राजनीति भएपनि त्यो समयमा अध्यन अनि अध्यापन भने संतोषजनक लाग्दथ्यो। कान्ति मावि त मेरो जिवनको एउटा अति सम्मानित भूमि हो। यद्यपि यस विद्यालयमा भने धेरै सबल पक्ष र थोरै दुर्बल पक्ष थिए। सबल पक्ष अन्तर्गत विद्यालयको नेतृत्व असल व्यक्तिले गर्नुभएको थियो। छुट्टाछुट्टै विधामा प्रतिस्पर्धाका लागि फरकफरक प्रतिभा भएका अग्रज दाइदिदी एवं भाइबहिनी हुन्थे। गाउँको तुलनामा धेरै अवसर थिए। तर विद्यालयमा अङ्ग्रेजी माध्यम पढ्ने र नेपाली माध्यम पढ्ने विद्यार्थीलाई फरक नजरले हेरिन्थ्यो र व्यवहार पनि भिन्न थियो। कान्ति माविमा पढ्नलाई प्रवेश परिक्षा अनिवार्य थियो। यस परिक्षामा थुप्रै जिल्लाबाट राम्रो अङ्क ल्याएर आएका विद्यार्थी उत्तीर्ण हुन्थे भने केही शक्तिको आडमा भर्ना हुन्थे। अङ्ग्रेजी र नेपाली माध्यममा पढ्ने विद्यार्थीको शुल्क अलगअलग थियो। सायद त्यसैले होला व्यवहार भिन्न भएको। त्यसमा पनि एउटा दुइटा सेक्सन त धेरै जान्ने विद्यार्थीका हुन्थे। यसको असर विद्यार्थीमा सकारात्मक भन्दा नकारात्मक थियो। शिक्षकले अध्यापन गर्ने विषय, तह र कुन सेवा अन्तर्गत अध्यापन गर्दैछन जस्तै स्थायी, दरबन्दी, करार, निजी, राहत आदिका आधारमा शिक्षकबीचमा पनि एक हिसाबको म म भन्ने पन झल्किन्थ्यो।
होराइजन जिबिएसमा शैक्षिक साथै प्रशासनिक वातावरण पनि राम्रो भएको अनुभूति गर्थे। त्यहाँ आलोचना गर्नका लागि मसङ्ग एउटै कुरा छ त्यो हो विज्ञान र व्यवस्थापन सङ्कायबिचमा भिन्न व्यवहार।
विन्ध्यावासीनी माविका सम्दर्भमा पनि मुख्य अनुभव एउटै छ। विद्यालयको नेतृत्व राम्रो थियो तर प्रायः विद्यार्थी र शिक्षकमा चाहिँ संस्कार र सरलता थिएन। आजको दिनमा म आफै दलीय राजनीति र भागबन्डाले शिथिल पारेको देशकै ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखरामा कानून पढ्दैछु। समग्र शैक्षिक परिवेश सुधारका लागि हामीले प्रयास गरिरहेका छौं र केहि सानातिना सुधार भएका पनि छन्। निकट भविष्यमा हामीले देशको प्रशासनको नेतृत्वमा पुगेर होस् या नीति निर्माण तहको नेतृत्व गरेर होस् या त न्यायालयको केही सकारात्मक रुपान्तरण त जरुर गर्नेछौं।
सरकारी विद्यालयले यसरी रोजेर विद्यार्थी पढाउन पाउने र माध्यमिक तहसम्म शुल्क लिन पाउने अधिकार कुन कानुनले दियो? यसलाई अबको नेतृत्वले बुझ्न जरुरी छ। वर्गीय असमानताको प्रारम्भ देशभरका राम्रा भनिएका सरकारी विद्यालयबाट हुन्छ भने संविधानले उल्लेख गरेको मौलिक हकसङ्ग सम्बन्धित शिक्षाको हकको उल्लंघन यिनै विद्यालयबाट भएको छ। सरकारी विद्यालयमा सबै विद्यार्थीले भेदभावरहित वातावरणमा निशुल्क पढ्न पाउनुपर्छ। अङ्ग्रेजी माध्यमको निहुँमा आज जुन शुल्क विद्यालयहरुले लिएका छन् त्यस उपर पनि जाचबुझ गर्न आवश्यक छ।
प्रिय विद्यार्थी साथीहरु यो नसोच्नुस कि गाउँ छोडेर शहर झर्दैमा शैक्षिक भविष्य कायापलट हुन्छ। शहरले अवसर प्रदान चाहिँ गर्दछ। यहाँ कोहि अध्यन, खोज, अनुसन्धानको नसामा पर्दछन त कोहि अरु चिजैकै नशामा। अरु नै चिजको नशाले कतिपयलाई त डुबाएको पनि छ। शहरका कतिपय विद्यालयको अवस्था नाजुक छ भने केही राम्रा कहलिने विद्यालय नितान्त आफ्नो मेहनतले राम्रा बनेका पक्कै हैनन। यिनमा शिक्षकले गरेको लगानी र छानिएर आएका विद्यार्थीको मेहनत महत्त्वपूर्ण छ। जहाँ पढेपनि आफुले इमानदारीताका साथ मेहनत गर्नैपर्छ।
आजको युगमा जति महत्त्वपूर्ण अङ्ग्रेजी भाषा, सुचना तथा सञ्चार प्रविधि छन त्यति नै महत्त्वपूर्ण हाम्रो परिवार, समाज, राष्ट्र अनि राष्ट्रियता छन्। संस्कार बिनाको १००% प्राप्ताङ्क प्रमाणपत्रको कुनै तात्पर्य हुँदैन। पढेलेखेका युवा भन्दापनि असल विद्यार्थी एवं सन्तति नेपाल आमाको मुहारमा खुशी ल्याउन चाहिएको छ। त्यसैले आफ्नो कर्ममा विश्वास राख्नुस। राम्रो ठाउँमा पुगेर राम्रो बन्छु भन्नेभन्दा पनि जहाँ छु त्यही ठाउँलाई राम्रो बनाउने सङ्कल्प लिनुहोस। म एकजना गर्दै हजारौं विद्यार्थीहरु गुणस्तरीय शिक्षाको खोजीमा शहर छिरेर तपाईं हामीले 'क' 'ख' सिकेका विद्यालयहरु बन्दैनन। हामीले नै बनाउन पर्छ। अन्ततः अनुभव भने सबैका समान हुँदैनन। यो मेरो नितान्त व्यक्तिगत अनुभव हो। यसमा आफू अनुकूल विषयवस्तुलाई नियाल्न सक्नुहुनेछ।