याङ्गुन, १८ वैशाख
पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ। जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिनुभएको हो।
यसलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयासका रूपमा हेरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८० वर्षीया सुकीको सजायको स्वरूप परिवर्तन गरिएको उल्लेख गरिएको छ, तर उहाँलाई कहाँ राखिने भन्ने स्पष्ट पारिएको छैन। सार्वजनिक गरिएको एउटा तस्बिरमा उहाँ दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ। सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उहाँलाई राजधानी नेपिडोको कुनै सुरक्षित स्थानमा राखिएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ।
नेपिडोस्थित एक प्रहरी स्रोतले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागु गर्न निर्देशन दिइएको जानकारी दिएका छन्। उनका अनुसार ‘तोकिएको निवास’ पूर्णरूपमा सुरक्षा निकायको नियन्त्रणमै रहने छ। सुकीको सजाय कति बाँकी छ भन्नेबारे पनि सरकारी पक्षले खुलाएको छैन। यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ। संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित सङ्केत’ भन्नुभयो।
यद्यपि सुकीका वकिलले भने उहाँ अझै पनि अन्याय पूर्णरूपमा स्वतन्त्रताबाट वञ्चित रहेको बताएका छन्। सन् २०२१ मा सैनिक कू मार्फत सत्ता कब्जा गरेपछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले सुकीको निर्वाचित सरकार अपदस्थ गर्दै उहाँलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो। अधिकारवादी समूहले ती आरोपलाई राजनीतिक रूपमा प्रेरित बताएका छन्। त्यसयता देश गृहयुद्धमा फसेको छ, जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।
हालै सम्पन्न विवादास्पद चुनावपछि नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले एनएलडीलाई प्रक्रिया बाहिर राख्नुभएको थियो। चुनावमा आलोचना वा विरोध गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थियो भने द्वन्द्वग्रस्त क्षेत्रमा मतदान नै हुन सकेन । लोकतन्त्रका पक्षधरले यसलाई सैनिक शासनलाई वैधानिक देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
विश्लेषकका अनुसार सुकीलाई नजरबन्दमा सार्ने निर्णय पनि त्यही रणनीतिको निरन्तरता हुन सक्छ। सुकीका छोरा किम एरिसले यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास भएको बताउनुभयो। उहाँले सुकीलाई परिवार र कानुनी टोलीसँग सम्पर्क गर्न दिइनुपर्नेमा जोड दिनुभयो। देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिनुभएको छ।
परिवारले उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ। यसैबिच, मिन आङ ह्लाइङले उहाँका निकट सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि हालै क्षमादान दिनुभएको छ, जसलाई राजनीतिक सङ्केतका रूपमा हेरिएको छ। रासस