काठमाडौँ, १७ वैशाख
राष्ट्रपति राष्ट्रपति रामचन्द्रले बुद्ध दर्शनलाई व्यवहारमा लागू गर्न सके मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभएको छ।
बिहीबार ललितपुरमा आयोजित एक बौद्ध सभालाई सम्बोधन गर्दै उहाँले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई जीवनमा उतार्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यी शिक्षाको व्यवहारिक अभ्यासबाट मात्रै समाजमा स्थायी शान्ति र समृद्धि स्थापना हुन सक्छ।
राष्ट्रपति पौडेलले वर्तमान विश्व द्वन्द्व, स्वार्थपरायणता, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासजस्ता समस्याले प्रभावित भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बनेको बताउनुभयो।
उहाँले बुद्धका शिक्षा र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। साथै, यसले राष्ट्रिय एकतालाई थप बलियो बनाउन सकिने उहाँको भनाइ थियो।
राष्ट्रपति पौडेलले नेपालमा जन्मिएका गौतम बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शन विश्वभर फैलिएको उल्लेख गर्दै उहाँले देखाउनुभएको आर्य अष्टाङ्गिक मार्गले मानवलाई दुःखबाट मुक्तिको बाटो देखाएको बताउनुभयो।
उहाँले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्ध दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो।