काठमाडौँ, १८ वैशाख
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रमा देखिएको ‘नीतिगत कब्जा’ अन्त्य गर्दै सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ।
आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सुशासनका विषयमा सरकार कडा रूपमा अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार सरकारले सुशासनलाई म्याक्रो र माइक्रो तहमा विभाजन गरेर सुधारका कार्यक्रम सञ्चालन गरिरहेको छ।
मन्त्री वाग्लेले म्याक्रो सुशासनअन्तर्गत राज्यका संयन्त्र र नीतिमा हुने संस्थागत कब्जा हटाउने काम भइरहेको बताउनुभयो। माइक्रो सुशासनमार्फत नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको उहाँको भनाइ छ।
“सरकारी कार्यालयमा लाइन बस्न नपर्ने, घुस दिन नपर्ने र डिजिटल माध्यमबाट सहज रूपमा सेवा प्राप्त हुने व्यवस्था गर्न सरकार लागिपरेको छ,” उहाँले भन्नुभयो।
उहाँले अपराधमा संलग्न व्यक्तिमाथि कारबाही हुँदा निजी क्षेत्रले मनोबल खस्किएको भन्दै प्रतिक्रिया दिन नहुने उल्लेख गर्नुभयो। इमानदार व्यवसायीलाई डराउनुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो।
“दुःख गरेर व्यवसाय गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमी आत्तिनुपर्ने अवस्था छैन,” मन्त्री वाग्लेले भन्नुभयो, “तर व्यवसायको आवरणमा आपराधिक गतिविधिमा संलग्न हुनेहरूले भने उन्मुक्ति पाउने छैनन्।”
उहाँले निजी क्षेत्रलाई मुलुकको ७० खर्ब रुपैयाँभन्दा ठूलो अर्थतन्त्रको मुख्य संवाहक र आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा व्याख्या गर्नुभयो।