मन्थली, २४ साउन (रासस) : सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापमार्फत सिँचाइ पुर्याउने उद्देश्यले आयोजना कार्यान्वयनमा ल्याएको थियो ।
विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी उदयपुरको राम्चे सिद्धगढी निर्माण सेवासँग विसं २०७५ असार २९ मा भएको सम्झौता भएको थियो । निर्माण व्यवसायीले सिँचाइ आयोजनाका लागि रू एक करोड २९ लाख दुई हजार चार सय ४८ मा सम्झौता गरेकामा रू ८३ लाख १७ हजार चार सय ३३ भुक्तानी भइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा सुनकोसी नदी नजिकै भए पनि लामो समयदेखि फाँंट सुक्खा छ । सुनकोसी–तामाकोसी नदी आसपासका स्थानीय निर्माणाधीन आयोजना अलपत्र बनेपछि चिन्तित छन् । बाह्रै महिना अन्न फलाउने योजना बनाएका स्थानीयले सिँचाइ अभावका कारण धान, मकै लगाउन पाएका छैनन् ।
आयोजना निर्माणस्थल नजिक पानी सङ्कलनका लागि बनाइएका कृत्रिम पोखरी पनि पानी नभएर सुेकेका छन् । नदीबाट पोखरीसम्म पुर्याइएका पाइप लाइन पनि बिग्रिएका र अलपत्र अवस्थामा छन् ।
स्थानीय कृष्णगोपाल श्रेष्ठले भन्नुभयो, “कहिले होला यो फाँटमा सिँचाइ हुने ?” नदीको पानी लिफ्टमार्फत फाँटभन्दा माथि लगेर सिँचाइ गर्ने आयोजना कार्यान्वयनमा आएको पनि छ वर्ष भइसकेको उहाँले बताउनुभयो । “पानी आउँला र खेती गरौँला भन्ने आशा मारिसकियो”, उहाँले निराशा पोख्नुभयो, “चार वर्ष भयो, कोही फर्केर आएको छैन, के बन्ला र आयोजना ?”
जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापका अनुसार सिँचाइ आयोजनाको ठेक्का लिएको निर्माण कम्पनीले काम बीचमै छाडेपछि अलपत्र बनेको छ । सम्झौताबमोजिम बाँकी काम गर्नका लागि बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकाले सम्झौता रद्ध गरी विसं २०७७ कात्तिक २६ मा सार्वजनिक खरिद एकाइको कालोसूचीमा निर्माण कम्पनीलाई राखिएको कार्यालयका इन्जिनियर दिवाकर मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले कार्यालयले गरेको ठेक्का रद्द र कालोसूचीको निर्णय विरुद्ध अदालत गएकाले आयोजनाको बाँकी काम अन्योल बनेको हो ।
“अदालतमा विचाराधीन अवस्थामा मुद्दा रहेकाले बाँकी काम गर्नका लागि अर्को ठेक्का बन्दोबस्त गर्न सकेका छैनौँ”, मण्डलले भन्नुभयो, “फैसला के आउँछ, त्यसपछि योजना कसरी सम्पन्न गर्ने भन्ने विषयमा टुङ्गोमा पुगिएला ।” उहाँले उक्त आयोजनाका लागि प्रदेश सरकारले हरेक वर्ष कार्यक्रम राख्दै आएको भए पनि मुद्दाकै कारण काम हुन नसकेको बताउनुभयो ।
निर्माण व्यवसायीले समयमा काम पनि नगर्ने कार्यालयको निर्णय विरुद्ध मुद्दा हालेर थप सास्ती दिइरहेको स्थानीय कृष्णबहादुर केसीले बताउनुभयो । “आफू पनि काम नगर्ने अनि अर्कोलाई बाटो छेक्ने गरिरहेको छ”, उहाँले भन्नुभयो, “सिँचाइ आयोजना अलपत्र हुँदा हाम्रो खेतमा चिरा परेको छ । मकै सुके, धान रोप्न अझै पाएइएको छैन । वर्षौँदेखिको सपना चकनाचुर भएको छ ।” मुद्दा जितिहाले पनि निर्माण व्यवसायीलाई उक्त आयोजनाको काममा स्थानीयले सहयोग नगर्ने केसीको भनाइ थियो ।
---