काठमाडौँ ।उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय बनाउन आग्रह गरेका छन् ।
सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै मन्त्री खड्काले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको जनाउँदै यसलाई विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका हुन् ।
अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले यसको सधैँ उच्च मूल्यांकन गरिरहेको स्पष्ट पारेका हुन् ।
सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक विपद् तथा उद्धारका काममा रातदिन खटेर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने समेत उनको भनाइ छ ।
रक्षामन्त्री खड्काले भने, ‘तपाईंहरू एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ, तपाईँहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस् ।’
उनले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टर २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिए । ‘जहाज मर्मत गर्दा पनि धेरै लामो समय ग्राउण्डेड भएर बस्नुपर्ने अवस्था नहोस्, सबै काम पारदर्शीरूपमा छिटो छरितो होस्, त्यसका लागि नीतिगत रूपमा कुनै निर्णय गर्नुपर्ने भए सरकार र मन्त्रालय सधैँ तयार रहन्छ’, उनले भने।