काठमाडौँ । सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार स्वदेश फर्किँदै छन् ।
यही साउन ६ गते भ्रमणमा गएका दाहाल भोलि शुक्रबार बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको हो ।
दाहाल संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित 'फुड सिस्टम समिट प्लस टु' मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए ।
सो क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थिए ।
रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो । भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।
भ्रमणका दौरान प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए । सो अवसरमा उनले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताएका थिए ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीयसचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए ।