काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएको छ ।
सुरुमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित २१ जनाकै बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले जनाएको छ ।
सिआइबी सुरुमा असार १२ मा भाटभटेनीका सञ्चालक गुरुङसहित चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि पक्राउ पर्नेको संख्या २१ पुगेको हो । तीमध्ये सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत असार ५ मा सर्वोच्च अदालतको आदेशले छुटेका थिए ।
पछिल्लो पटक साउन ८ मा नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जन कुपण्डोलबाट पक्राउ परेका थिए । जग्गा हिनामिनामा संलग्न ४०६ जनाविरुद्ध प्रहरीले अदालतबाट पक्राउन गर्न अनुमति लिएको छ ।
भू–माफियासँगको मिलेमतोमा झुटा मोही खडा गरेर सरकारले अधिग्रहण गरेसकेको १४७ रोपनी जग्गा हिनामिना गरेको सिआईबीको अनुसन्धान निष्कर्ष छ ।
हालसम्म पक्राउ पर्नेमा: मिनबहादुर गुरुङ (भाटभटेनी),सुधीरकुमार शाह (पूर्व निर्वाचन आयुक्त),धर्मप्रसाद गौतम( शाखा अधिकृत), गोपाल कार्की(अवकांश प्राप्त खरिदार), शिवजी भट्टराई(तत्कालीन वडासचिव), घमानकुमारी कार्की (नापी सर्वेक्षक), बाबुराजा महर्जन(नक्कली मोही), रमेशकुमार पोखरेल(समरजंग कम्पनीका तत्कालीन प्रमुख), देवनारायण महर्जन(मोही), लोकहरि घिमिरे( समरजंग कम्पनीका तत्कालीन प्रमुख), ध्रुवप्रसाद अर्याल (नापी सर्वेक्षक), योगराज पौडेल (नासु डिल्लीबजार मालपोत), नारायणदास मिश्र (पूर्व खरिदार डिल्लीबजार मालपोत),रुद्रप्रसाद श्रेष्ठ (महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग), बालकृष्ण श्रेष्ठ (सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय), विनोद पौडेल (सहलेखापाल समरजंग कम्पनी),केशव तुलाधर(बिचौलिया), अरुणकुमार श्रेष्ठ (कर्मचारी नापी विभाग), कलाधर देउजा (प्रमुख डिल्लीबजार मालपोत), सञ्जय महर्जन (नक्कली मोही) र सकुलानन्द महर्जन (नक्कली मोही) रहेका छन् ।