काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पु¥याइएको छ ।
श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएकोथियो । दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।
आर्यघाटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कु्टनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित हुनुहुन्छ ।
सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत हुनुहुन्थ्यो ।
दिवङ्गत दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
साथै दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, “संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको छ ।”
–––
श्रोतः रासस