काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताउनुभएको छ ।
आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औँ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले त्यसतर्फ गम्भीर हुन मातहतका निकाय तथा सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।
“यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस्”, उहाँले भन्नुभयो, “के के गर्नुपर्ने हो अहिले नै तयारी गरौँ, ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।”
कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहो¥याउने गरी काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले प्रतिकार्य योजनालाई सबै निकायबीच छलफल गरेर तयार पारी तत्काल लागू गर्न निर्देशन दिनुभयो ।
पछिल्लो समयमा तातो हावाको लहर फैलिरहेको सन्दर्भमा उहाँले कहाँ के गर्नुपर्ने हो खास योजना तयार पार्न पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभयो । “एक दुई दिनमै त्यस विषयमा ठोस प्रस्ताव ल्याउनुहोस्, त्यो कार्यान्वयनमा जाने गरी आओस्”, उहाँले थप्नुभयो ।
उहाँले कुरा चाहिँ नयाँ नयाँ गर्ने तर काम भने यथास्थितिमै रहेर गर्नुको कुनै अर्थ नहुने स्मरण गराउँदै खतरा के हो, कसरी ‘रेस्पोन्स’ गर्ने आजैदेखि त्यो तयारीमा जुट्न सबै निकायसँग आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनका लागि तयार पारेको प्रतिकार्य योजना तथा तातो हावाको लहर र सम्भावित विपद् र त्यसको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले एक दुई दिन भित्रैमा मनसुन भित्रिने र यसपालि देशैभर सरदरभन्दा कम वर्षा हुने जानकारी गराएको थियो ।
कम वर्षा हुने भन्दैमा वर्षा नै नहुने, विपद् नै आउँदैन भन्ने होइन भन्दै उहाँले विभागले त्यसतर्फ सचेत हुनुपर्ने र आवश्यक पूर्वतयारमिा जुट्नुपर्ने बताउनुभयो । उहाँका अनुसार कुनै ठाउँमा एकैपटक धेरै पनी पर्यो भने त्यो ठाउँका लागि विपद्को जोखिम भई दिनसक्छ । समग्रमा धेरै स्थानमा सुक्खा लाग्ने अनुमान भने गरिएको छ ।