काठमाडौँ । सत्तारुढ १० दलीय गठबन्धनमा जुटेको सहमतिअनुसार आज बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
३ दिनदेखि बस्दै आएको गठबन्धनको बैठकले बुधबार साँझ मन्त्रालयको भागबण्डा टुंगो लगाएको बताइएको छ।
बुधबारको बैठकमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने पक्का भएको छ। यस्तै, सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २, नेकपा एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने सहमति जुटेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्रालय पाउने भएका छन्।
भागबण्डासँग २२ वटा मन्त्रालयको हिसाब मिलेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। नेताहरुका अनुसार बाँकी ३ वटा राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २५ सदस्यीय पुग्नेछ।
नेकपा एमालेको नेतृत्वमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले १७ सदस्यीय छ। राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए।
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ५ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, माओवादी केन्द्रसहित १० दलको समर्थन छ।