काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तकाे हत्या प्रकरणका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएकाे छ ।
गृहमन्त्रीकाे शपथ लिँदा बखत निर्मलालाई न्याय दिने आफ्नाे प्रमुख एजेन्डा रहेकाे घाेषणा गरेका उनले यस्ताे निर्देशन दिएका हुन् ।
उनकाे निर्देशनमा नेपाल प्रहरीले निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेकाे छ ।
प्रहरीले प्रहरी नायव महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हाे ।
डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छिन् । उनी यस घटनाको अनुसन्धानमा पनि खटिएकी थिइन् । त्यतिबेला सिंह प्रहरी उपरीक्षक थिइन् ।
गत सोमबार गृहमन्त्रीको कार्यभार सम्हालेपछि रवि लामिछानेले आफ्नो पहिलो काम निर्मला पन्तको हत्यारा पत्ता लगाउनु रहेकाे बताएका थिए । उनैकाे निर्देशनबमाेजिम छानबिन समितिकाे गठन गरिएकाे हाे ।
समितिमा प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले शुक्रबार हालसम्म भएका कामहरूबारे सूचना दिइएकाे बताए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो ।
२०७५ साउन १० गते घरबाट हराएकी निर्मला ११ गते बिहान घरनजिकैको उखुबारीमा अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन् ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सक्रिय थियो ।
निर्मलाको हत्यापछि जति प्रहरी अधिकारीहरू आए पनि उनीहरू सबैले अपराधीसम्म पुग्ने केही पनि तथ्य प्रमाण फेला नपरेको बताउँदै आएका छन् ।