काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन तथा छनोटका लागि ‘क्याण्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ। सोमवार काठमाडौंको चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्याण्डिडेट क्लब’को औपचारिक घोषणा गर्नुभएको हो। उहाँका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउन यो अवधारणा अघि सारिएको हो।
सभापति लामिछानेले उम्मेदवार बन्न चाहने व्यक्तिको राजनीतिक पृष्ठभूमिसँगै कानूनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थासमेत मूल्यांकन गरिने बताउनुभयो। उम्मेदवार बनेपछि विवादमा पर्ने सम्भावना भएका विषय पहिल्यै पहिचान गरी योग्य र सक्षम व्यक्तिलाई मात्र उम्मेदवार बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ।
उहाँले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुअघि आकांक्षीको विभिन्न मापदण्ड ‘क्याण्डिडेट क्लब’मार्फत परीक्षण गरिने जानकारी दिनुभयो। राजनीतिक नेतृत्वमा पुगेपछि व्यक्तिको विगत तथा व्यक्तिगत विषयहरू विवादमा आउने गरेको उल्लेख गर्दै उम्मेदवार छनोटअघि नै आवश्यक मूल्यांकन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
लामिछानेका अनुसार सुरुमा गाउँपालिका तहबाट ‘क्याण्डिडेट क्लब’को प्रक्रिया अघि बढाइनेछ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यलगायत स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न चाहने व्यक्तिले आवेदन दिन सक्नेछन्।
रास्वपाले सोमवारदेखि नै इच्छुक आकांक्षीका लागि आवेदन खुला गरेको छ। उम्मेदवार बन्न चाहनेले पार्टीको मोबाइल एप ‘आरएसपी’मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिनुभयो। उम्मेदवार छनोटमा ‘मेरिटोक्रेसी’ अर्थात् योग्यतामा आधारित प्रणाली स्थापित गर्ने उद्देश्यले ‘क्याण्डिडेट क्लब’सँगै ‘लिडरशिप एकेडेमी’को अवधारणासमेत अघि सारिएको उहाँले बताउनुभयो। लामिछानेले पार्टीलाई आवश्यक नेतृत्व पहिचान गर्ने प्रक्रियामा योग्यता, क्षमता र पृष्ठभूमिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार राजनीतिक दलमा नेतृत्व चयन केवल राजनीतिक पहुँच वा व्यक्तिगत सम्बन्धका आधारमा नभई सम्बन्धित व्यक्तिको समग्र क्षमता र योग्यताका आधारमा हुनुपर्ने मान्यताका साथ नयाँ प्रणाली विकास गर्न खोजिएको हो।
“पार्टीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने राजनीतिसँगैको एउटा मेरिटोक्रेसीको बिन्दु के होला भन्ने सोचेर हामीले ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडेमी’को अवधारणा ल्याएका हौँ,” लामिछानेले भन्नुभयो।
उहाँले उम्मेदवारको कानूनी अवस्थासमेत महत्वपूर्ण हुने बताउनुभयो। कुनै व्यक्तिमाथि कानूनी विवाद छ कि छैन, आर्थिक वा सामाजिक समस्या छन् कि छैनन् तथा पारिवारिक विषयले राजनीतिक भूमिकामा असर पार्न सक्छ कि सक्दैन भन्ने विषयको मूल्यांकन गरिने उहाँको भनाइ छ।
त्यस्तै, आकांक्षीको राजनीतिक र सामाजिक योगदान, नेतृत्व क्षमता तथा स्थानीय स्तरमा उसको प्रभावसमेत मूल्यांकनको आधार बन्ने बताइएको छ। यसबाट निर्वाचनका लागि योग्य र जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्न सक्ने उम्मेदवार छनोट गर्न सहयोग पुग्ने रास्वपाको अपेक्षा छ।
सभापति लामिछानेले ‘क्याण्डिडेट क्लब’लाई रास्वपाको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा मात्र सीमित राख्ने उद्देश्य नरहेको पनि स्पष्ट पार्नुभयो। नेपालको समग्र राजनीतिमा योग्य र सक्षम नेतृत्व विकास गर्न योगदान पुर्याउने दीर्घकालीन उद्देश्यसहित यो अवधारणा ल्याइएको उहाँको भनाइ छ।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार पहिचान र छनोटको प्रक्रिया प्रारम्भ गरेसँगै पार्टीभित्र संगठन विस्तार र नेतृत्व विकासका गतिविधिलाई समेत तीव्रता दिने संकेत गरेको छ।