जलवायु परिवर्तनसम्बन्धी नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले काठमाडौंमा ‘लोकल कन्फरेन्स अफ युथ’ (एलसिओवाई) आयोजना हुने भएको छ। आयोजकका अनुसार सम्मेलनमा देशका सातवटै प्रदेशबाट १ सय ८० भन्दा बढी युवा सहभागी हुनेछन्। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा युवाले जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा देखिएका समस्या, आफ्ना अनुभव तथा अभ्यासबारे छलफल गर्दै नीतिगत सुझाव तयार गर्नेछन्। सम्मेलनका निष्कर्षलाई सम्बन्धित मन्त्रालयमार्फत राष्ट्रिय नीति निर्माण प्रक्रियामा समेट्न पहल गरिने आयोजक नेप्लिज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) की राष्ट्रिय संयोजक आकृति डोटेलले जानकारी दिनुभयो। युवाका साझा सवाल र सुझावलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनफसिसिसि) अन्तर्गतको आधिकारिक बालबालिका तथा युवा समूह ‘योङगो’ मार्फत अन्तर्राष्ट्रिय जलवायु प्रक्रियासम्म पुर्याइने उहाँले बताउनुभयो। सम्मेलनमा कम्तीमा ५० प्रतिशत महिला तथा लैङ्गिक विविधता भएका व्यक्तिको सहभागिता सुनिश्चित गरिनेछ। छलफलपछि सहभागीले ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तनसम्बन्धी वक्तव्य’ तयार गर्नेछन्।
डोटेलका अनुसार सम्मेलनको उद्देश्य युवालाई कार्यक्रममा सहभागी गराएर औपचारिकता पूरा गर्नु मात्र नभई उनीहरूको आवाज नीति निर्माण र कार्यान्वयनसँग जोड्नु हो। स्थानीय तहमा जलवायुका क्षेत्रमा काम गरिरहेका युवाका अनुभव, समस्या र समुदायस्तरका कथालाई समेत नीतिगत बहसमा समेटिने उहाँले बताउनुभयो। “युवाको सहभागिता भनेको कार्यक्रममा आउने, सुन्ने र जाने मात्रै होइन। उनीहरूको आवाज नीति निर्माणमा कसरी समेटिन्छ भन्ने पनि महत्वपूर्ण हो,” डोटेलले भन्नुभयो। उहाँका अनुसार सम्मेलनबाट प्राप्त सुझावलाई दस्तावेजमा सीमित नराखी सरकारको जलवायु परिवर्तन नीति, २०१९ को समीक्षालगायत नीतिगत प्रक्रियामा प्रस्तुत गरिनेछ। त्यसपछि सिफारिस कार्यान्वयन भए–नभएको समेत युवाको सहभागितामा अनुगमन गर्ने तयारी गरिएको छ।
सम्मेलन आयोजकका अनुसार जलवायु पारदर्शिता, जलवायु वित्त, हानि तथा क्षति, न्यायोचित संक्रमण, हिमाली क्षेत्र तथा जीविकोपार्जन, जलवायु उत्थानशील शिक्षा, कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणलगायत विषयमा छलफल हुनेछ। युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपालकी दीक्षा सुवेदीका अनुसार सम्मेलनअघि युवालाई लक्षित गरी नौ वटा विषयगत अनलाइन सत्र सञ्चालन गरिएको थियो। ती सत्रमा विज्ञ तथा सरोकारवालासँग छलफल गराएर युवालाई जलवायु नीति र अन्तर्राष्ट्रिय वार्ताका विषयमा तयार पारिएको उहाँले बताउनुभयो। सम्मेलनमा विषयगत छलफलसँगै ‘मोडल कप’मार्फत अन्तर्राष्ट्रिय जलवायु वार्ताको अभ्याससमेत गराइनेछ। करिब एक हजार युवाले सम्मेलनका लागि आवेदन दिएका थिए भने जलवायु परिवर्तनका क्षेत्रमा सक्रियता देखाएका र पूर्वतयारीका कार्यक्रममा कम्तीमा ८० प्रतिशत सहभागिता जनाएका युवालाई छनोट गरिएको आयोजकले जनाएको छ।
सम्मेलनमा विभिन्न प्रदेशमा अध्ययन तथा रोजगारीका लागि काठमाडौंमा रहेका युवालाई समेत उनीहरूको मूल प्रदेशको प्रतिनिधिका रूपमा सहभागी गराइनेछ। चिकित्सा, इन्जिनियरिङ, सामाजिक विज्ञान, मानविकी, नर्सिङ, सार्वजनिक स्वास्थ्यलगायत विभिन्न क्षेत्रका युवासँगै आठ वर्षभन्दा माथिका बालबालिकालाई पनि सहभागी गराइने सुवेदीले बताउनुभयो। सम्मेलनबाट तयार हुने राष्ट्रिय युवा वक्तव्यलाई क्षेत्रीय तथा विश्वव्यापी युवा जलवायु प्रक्रियामार्फत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको प्रक्रियासम्म पुर्याउने तयारी गरिएको छ। यसबाट नेपालका युवाका स्थानीय अनुभव र सवाललाई अन्तर्राष्ट्रिय जलवायु बहसमा जोड्ने तथा अन्य देशका प्रभावकारी अभ्यासबाट सिक्ने अवसर सिर्जना हुने आयोजकको अपेक्षा छ।