काठमाडौं, १५ वैशाख
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कास्की, लमजुङ, गोरखा र धादिङसहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा कास्कीको लुम्ले क्षेत्रमा करिब १८ मिलिमिटर वर्षा मापन गरिएको छ।
त्यसैगरी कर्णाली, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका अधिकांश स्थान र कर्णाली, बागमती तथा कोशी प्रदेशका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा जारी रहेको विभागले जनाएको छ।
मौसमी प्रणाली पूर्वतर्फ सर्दै गएकाले आसपासका क्षेत्रमा पनि वर्षाको प्रभाव विस्तार हुँदै जाने अनुमान गरिएको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले विशेषगरी आज रातिदेखि वर्षाको मात्रा र प्रभाव अझ बढ्ने जनाएको छ। रातिको समयमा कोशी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही क्षेत्रमा वर्षा हुने सम्भावना छ। साथै कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुनसक्ने चेतावनी दिइएको छ।
लगातारको वर्षाका कारण साना खोला तथा खोल्सामा आकस्मिक बाढी आउन सक्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक अवरुद्ध हुने जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङल्हामु राजमार्ग र बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म विशेषगरी रातिको समयमा यात्रा नगर्न पनि अनुरोध गरेको छ।