भोजपुर, ११ चैत
बाँदरको बढ्दो उपद्रवका कारण भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम वर्षेनि बढ्दै गएको छ। अन्नबाली जोगाउन कठिन भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवार वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ गर्न थालेका छन्। यसले ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन्।
स्थानीय कृषकहरूका अनुसार बाँदरहरू समूहमा आएर विशेषगरी पाक्नै लागेको बालीमा आक्रमण गर्ने गर्छन्। खेत वरिपरि कराएर वा हल्ला गरेर लखेटे पनि केही समयपछि पुनः फर्किने हुँदा नियन्त्रण गर्न कठिन भएको उनीहरूको भनाइ छ। कतिपयले डर देखाउने आकृति निर्माण गर्ने तथा खेतबारीमा पालैपालो कुरुवा बस्ने प्रयास गरे पनि दीर्घकालीन समाधान निस्कन सकेको छैन।
विशेषगरी मानेभञ्ज्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ (साविक वडा नं. ८ र ९) मा बाँदर समस्या अत्यधिक देखिएको छ। स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ प्रायः रित्तिएको छ।
“पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ,” उहाँले भन्नुभयो।
अर्चले, भोर्लेनी, दमाईछाप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अधिकांश घर जीर्ण र खाली अवस्थामा छन्। एक समय हराभरा देखिने खेतबारी अहिले बाँझै छाडिएका छन्। खेतका कान्ला र पाखा झाडीले ढाकिँदै गएका छन् भने कतिपय स्थानमा बारी जङ्गलमा परिणत हुन थालेको छ।
उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ। किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारीजस्ता बाली बाँदरले नष्ट गरिदिने गरेका छन्।
“मेहिनत गरेर लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ। दिनभरि खेत कुरेर बस्न सकिँदैन,” तामाङले गुनासो गर्नुभयो, “बाली जोगाउन नसक्दा धेरैले खेती छाडे, कतिपयले गाउँ नै छाड्नुपर्यो।”
जिल्लाका अन्य स्थानीय तहहरूमा पनि बाँदरको समस्या उस्तै गम्भीर रहेको कृषकहरूको भनाइ छ। कृषि मुख्य आम्दानीको स्रोत भएकाले ग्रामीण परिवारहरू आर्थिक रूपमा प्रभावित भएका छन्। युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतीको जिम्मेवारी थपिएको भए पनि बाँदरको त्रासले उनीहरू निरुत्साहित भएका छन्।
स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या झन् चर्को छ। मानव बस्ती घट्दै जाँदा बाँदरहरू बाँकी रहेका बस्ती केन्द्रित हुँदै गएका छन्। दीर्घकालीन समाधान नभए गाउँ पूर्ण रूपमा रित्तिने र खेतीयोग्य जमिन बाँझिने खतरा बढ्दै गएको किसानहरूको चिन्ता छ।
बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको जोड छ। साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने माग उनीहरूले गरेका छन्।