पोखरा,६ चैत
नेपालको पर्यटन राजधानी पोखरा मा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ सुरु भएको छ। साहसिक हवाई खेलकुदका लागि विश्वमै चर्चित पोखरामा आयोजना गरिएको प्रतियोगिता चैत ७ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल हवाई खेलकुद संस्था को आयोजनामा ‘एक्युरेसी’ विधामा भइरहेको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६६ जना खेलाडी सहभागी छन्।
कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरण ले विसं २०७८ मा सोलो उडानमा रोक लगाएपछि पाँच वर्षयता प्रतियोगिता हुन सकेको थिएन। २०औँ संस्करणपछि रोकिएको प्रतियोगिता पुनः सञ्चालनमा आउनु खेलकुद तथा पर्यटन दुवैका लागि सकारात्मक मानिएको छ।
प्रतियोगिताअन्तर्गत खेलाडीहरूले सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौदी क्षेत्रमा अवतरण गर्ने व्यवस्था गरिएको छ।
यसअघि नेपालले १८औँ एसियाली खेलकुद मा प्याराग्लाइडिङतर्फ रजत पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गरेको थियो। यस्तो प्रतियोगिताको निरन्तरताले खेलकुद विकासमा टेवा पुगेको सरोकारवालाको भनाइ छ।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता प्रतियोगिताले साहसिक खेलमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पुरुषतर्फको एक्युरेसी विधामा प्रथम रु १ लाख ५० हजार , द्वितीय, रु १ लाख र तृतीय हुनेले ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ विजेताहरूलाई प्रथम रु ७५ हजार, द्वितीय, रु ५० हजार र तृतीय हुनेले रु २५ हजार प्रदान गरिनेछ।
त्यसैगरी, टिम ओभरअलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो ।