काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) २०२६ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म चलेको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमार्फत गरिएको हो।
समापन समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका चलचित्र र चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ सर्वोत्कृष्ट घोषित भयो। जितु नेपाल (‘ज्वाइँ साब’) सर्वोत्कृष्ट राष्ट्रिय अभिनेता तथा सुरक्षा पन्त (‘कोसेढुंगा’) सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्री घोषित भइन्। ‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेलले सर्वोत्कृष्ट राष्ट्रिय निर्देशक तथा ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरे।
लघु, वृत्तचित्र, बाल, महिला र सांस्कृतिक विधातर्फ पनि विभिन्न चलचित्रहरू सम्मानित भए। अन्तर्राष्ट्रिय फिचर चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ सर्वोत्कृष्ट घोषित भयो। अष्ट्रेलियाको ‘कुप्पा’, लिथुआनियाको ‘द हेड’ र इजरायलको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ ले आ–आफ्ना विधामा उत्कृष्ट अवार्ड जिते। साथै महिला, बाल, मानव अधिकार, वातावरणीय तथा एनिमेशन चलचित्रतर्फ विभिन्न देशका चलचित्र सम्मानित भए।
महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक तथा अतिथिहरूको सहभागिता रहेको थियो। बागमती प्रदेश सरकार, गोकर्णेश्वर नगरपालिका, चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव सम्पन्न गरिएको आयोजकले जनाएको छ।