काठमाडौँ, १८ वैशाख
वैशाख २५ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गुरु आमा’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो। साथै, ट्रेलरलाई ‘प्रेम सोनी सुनार’ युट्युब च्यानलमार्फत डिजिटल प्लेटफर्ममा पनि उपलब्ध गराइएको छ।
सार्वजनिक ट्रेलरले चलचित्रको मूल कथावस्तु झल्काएको छ, जसमा शिक्षक ९गुरु० को भूमिका, समाजमा उनको सकारात्मक प्रभाव, र विद्यार्थीहरूको जीवन संघर्षलाई गहिरो रूपमा प्रस्तुत गरिएको देखिन्छ।
यसअघि नै टिजर र पोस्टरमार्फत चर्चा कमाइसकेको यस चलचित्रमा वरिष्ठ अभिनेत्री मिथिला शर्मा मुख्य भूमिकामा ‘गुरु आमा’को चरित्रमा देखिनुभएको छ। उहाँसँगै गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
कथा लेखन, निर्देशन तथा निर्माण प्रेम सोनी सुनारले गर्नुभएका हो। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ।
निर्देशक सुनारका अनुसार चलचित्रको विषयवस्तु अत्यन्त गहन र सन्देशमूलक छ। यो चलचित्रले शिक्षक–विद्यार्थी सम्बन्धसँगै त्याग, संघर्ष र सम्मानका कथाहरूलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु, अनुभवी कलाकारहरूको सहभागिता र सशक्त सन्देशका कारण ‘गुरु आमा’ अहिले नै दर्शकमाझ प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ। उहाँको भनाइमा, यो फिल्मले शिक्षक, विद्यार्थी र अभिभावक सबैका लागि महत्वपूर्ण सन्देश दिन्छ र जीवनमा सकारात्मक सोच ल्याउन प्रेरित गर्न सक्छ भन्ने विश्वास लिइएको छ।