काठमाडौँ, १४ कार्तिक
आज देशका विभिन्न प्रदेशमा ठूलो वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशभर वर्षा र बदली देखिएको महाशाखाले जनाएको छ। यद्यपि, आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार आउने अपेक्षा गरिएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायु र अरब सागरमा विकसित प्रणालीसँगै बङ्गालको खाडीको चक्रवात ‘मोन्था’को संयुक्त प्रभावका कारण लगातार वर्षा भइरहेको हो।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पनि हल्का वर्षा भएको छ।
महाशाखाले भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण, किसान, यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।