काठमाडौं : गत आइतबार वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा र वरिष्ठ पत्रकार, साहित्यकार तथा हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा भिडियो स्विच अन गरेर गीतको विमोचन गरिएको हो।
गीतमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको छ। यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो। राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादन रहेको यो गीत अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो।
राजन खरेलको छायांकन र सम्पादन रहेको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ। भिडियो सम्पादन कलिउड हवमा गरिएको हो र गायक–संगीतकार सन्तोष श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
मिलाप मासिकको आयोजनामा, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीको सहजीकरणमा भएको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए। उनले संगीतकार श्रेष्ठले साहित्यलाई संगीतसँग जोडेर पृथक काम गर्दै आएको चर्चा गर्दै, ‘श्वेतपत्र’ महाकाव्यको यो गीत त्यसको पछिल्लो कडी भएको बताए।
संगीतकार श्रेष्ठले श्लोकलाई गीतका रूपमा उतार्न धेरै मिहिनेत गरेको बताए। उनले गजलकार घनेन्द्र ओझासँग सहकार्यमा ‘गजलको स्वर्ण दशक’ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै ‘श्वेतपत्र’बाट अन्य गीत पनि ल्याउने तयारी रहेको बताए।
महाकाव्यकार दाहालले ‘श्वेतपत्र’ बारे अनुभव सुनाउँदै कतै प्रशंसा पाएको र कतै आलोचना भोग्नुपरेको उल्लेख गरे। भारतका केही स्थानमा यस कृतिबारे अनावश्यक झन्झट भोग्नुपरेको पनि उनले सुनाए।
वरिष्ठ संगीतकार राजु सिंहले साहित्य र संगीतको संयोजनलाई उत्कृष्ट पहल बताउँदै सर्जकलाई बधाई दिए। उनले नयाँ–नयाँ प्रयोगहरूले नेपाली संगीतलाई अझ समृद्ध तुल्याएको बताए।
पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा. अम्बिका अर्यालले ‘श्वेतपत्र’मा नेपाल, सिक्किम र भुटानलाई दिदी–बहिनीको संवादका रूपमा प्रस्तुत गरिएको चर्चा गर्दै यसको अझै चर्चा हुनुपर्नेमा जोड दिइन्।
साहित्यकार प्रा. ज्ञाननिष्ठ ज्ञवालीले ‘श्वेतपत्र’ आफूले धेरैपटक पढेको बताउँदै यो दाहालका अन्य कृतिभन्दा अब्बल रहेको उल्लेख गरे। गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले अब दाहाल गीतकारका रूपमा पनि परिचित भएको भन्दै बधाई दिए।
गजलकार घनेन्द्र ओझाले नेपाली साहित्यमा गजलको योगदान र ‘गजल स्वर्ण दशक’बारे विचार प्रस्तुत गरे। डा. यज्ञेश्वर निरौलाले दाहालका अन्य कृतिहरूको चर्चा गर्दै ‘श्वेतपत्र’ बाट लिइएको गीत ह्रस्व–दीर्घको नियम अनुसार उत्कृष्ट रूपमा गाइएको बताए।
प्रमुख अतिथि प्रा. डा. कोइरालाले ‘श्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’ लाई विशेष कृति बताउँदै विद्रोही चेतनाको नवीन महाकाव्यका लागि शुभकामना दिए।
कार्यक्रमका सभापति प्रा. पुरुषोत्तम दाहालले ‘श्वेतपत्र’को भिडियो राम्रो बनेको बताउँदै सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिए। उक्त महाकाव्यमा ४५ भन्दा बढी विज्ञहरूले समालोचना गरेका छन्।
कार्यक्रममा साहित्यकार लेखनाथ पोखरेल, डा. बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, समाजसेवी भुपेन्द्र कार्की, डा। अंकुर दाहाल, उषा दाहाल, साहित्यकार तथा सम्पादक रमेश दाहाल, चलचित्र जाँचपास समितिका सदस्य कुवेर गिरी, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाललगायतको उपस्थिति थियो।