काठमाडौं, १ साउन
एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपालले आज भुटानको राजधानी थिम्पुमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘ए’ मा परेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।
नेपालले केही दिनअघि बंगलादेशको ढाकामा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानलाई दुई खेलमा ६–१ र ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो, जसले नेपालको मनोबल उच्च बनाएको छ। तर, भुटानले घरेलु मैदान र समर्थकको फाइदा उठाउने लक्ष्य लिएको छ।
नेपाली टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ र एएफसी छनोट फरक प्रतियोगिता भएको उल्लेख गर्दै भुटानलाई कमजोर ठान्न नहुने धारणा राख्नुभयो। "भुटानलाई हामी सम्मान गर्छौं। उनीहरू खेल्दै–खेल्दै सुधार गरिरहेका छन् र घरेलु मैदानमा समर्थकहरूको साथ उनीहरूलाई थप हौसला दिनेछ," उहाँले भन्नुभयो।
गुरुङले समूहका तीनै टिमलाई सम्मानपूर्वक सामना गर्ने बताउनुभयो छ।
उता, भुटानी टोलीकी प्रशिक्षक टंक माया घलेले पनि टोली छनोट प्रतियोगिताका लागि पूर्ण तयारीमा रहेको जानकारी दिनुभयो। "हामी सकारात्मक मानसिकताका साथ मैदान उत्रिनेछौं। साफ प्रतियोगिताबाट धेरै कुरा सिक्यौं र यसपटक सुधारिएको प्रदर्शन गर्नेछौं," उहाँले भन्नुभयो।
दुवै टोलीका प्रशिक्षकले आफू–आफ्नो टिमको तयारीप्रति विश्वास व्यक्त गर्नुभएको छ। खेलले समूह चरणको प्रतिस्पर्धालाई रोचक बनाउने अपेक्षा गरिएको छ।