काठमाडौँ, १२ साउन
देशका विभिन्न भागमा आज बिहानदेखि वर्षा भइरहेको छ। काठमाडौँसहितका केही स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ, तर तराईका अधिकांश क्षेत्रमा वर्षा नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालका अनुसार हाल देशभर सामान्य बदलीको अवस्था रहेको छ। उनका अनुसार तराईको उत्तरी भागमा केही वर्षा भए पनि दक्षिणी क्षेत्रमा पानी पर्याप्त मात्रामा परेको छैन। उनले हाल सक्रिय रहेको मौसमी प्रणाली अत्यधिक प्रभावशाली नरहेको पनि बताउनुभयो।
पछिल्लो ६ घण्टाको वर्षा मापनअनुसार धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, र मुगुको गमगढी श्रीनगरमा ४०.८ मिलिमिटर वर्षा भएको छ। यी सबै मापनहरू भारी वर्षाको नजिक मानिन्छन्। काठमाडौँमा सो अवधिमा करिब १५ मिलिमिटर वर्षा मापन गरिएको छ।
पछिल्लो १२ घण्टामा इलाम, लमजुङ, नुवाकोट र सिन्धुपाल्चोकका केही स्थानहरूमा भारी वर्षा भएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नार्पूगाउँमा १२७.४ मिलिमिटर र धनकुटाको त्रिवेणी मापन केन्द्रमा ११२.८ मिलिमिटर मापन गरिएको छ। यस अवधिमा काठमाडौँमा ८२.८ र नुवाकोटमा ८६.२ मिलिमिटर वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ सक्रिय रहेको जनाइएको छ।
हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागले आगामी २४ घण्टामा कोशी प्रदेशको तराई भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको जनाइएको छ।